धनगढी । धनगढीमा भारतीय ट्याक्सीको मनपरी चलिरहेको पाइएको छ । भारतबाट धनगढी भारतीय नम्बर प्लेटका ट्याक्सीहरु अवैध रुपमा नेपाल आउने र यात्रु लैजाने गरेको पाइएको हो ।
स्थानीय प्रशासन ऐन तथा कानूनमा पनि भारतीय ट्याक्सी (पँहेलो नम्बर प्लेटका सवारी साधन) नेपाल प्रवेश गर्न पाउँदैनन् ।
यदि अनुमति बिना यस्ता सवारी साधन नेपाल प्रवेश गरे त्यो गैरकानूनी मानिन्छ । तर तत्कालीन समयमा धनगढीको हकमा स्थानीय नगरपालिका र प्रशासनबीच सीमापारीबाट यात्रु लिएर आउने पँहेलो नम्बर प्लेटका सवारी साधनलाई धनगढी चौराहसम्म आउन दिने सहमति भएको थियो ।
ती सवारीसाधन चौराहमा यात्रु छोडेर पुनः सीमापारी फर्किनुपर्थ्यो । अर्थात यात्रु लिएर नेपाल आएका भारतीय सवारी साधन (पँहेलो नम्बर प्लेटका) नेपालमा बास बस्न पाउँदैनन् ।
तर अहिले प्रशासनको उक्त सहमतिलाई लत्याएर भारतीय ट्याक्सीहरु नेपालमा भाडामै जग्गा लिएर अवैध रुपमा पार्किङ गरेर बस्ने गरेको फेला परेको छ । धनगढी चौराहमा जग्गा भाडामा लिएर भारतीय ट्याक्सीहरु राख्ने र यात्रु बोक्ने गरेको पाइएको छ ।
अझ यसरी नेपालमै पार्किङ अखडा बनाएर राखिएका भारतीय नम्बर प्लेटका ट्याक्सीहरु आपराधिक गतिविधिमा समेत प्रयोग हुनेगरेको आरोप लाग्ने गरेको छ । तर यसतर्फ स्थानीय प्रशासन भने मौन छ । शान्ती सुरक्षाका दृष्टिकोणले पनि यो निकै संवेदनशील विषय भएकाले यसतर्फ ध्यान दिन जरुरी छ ।





प्रतिक्रिया दिनुहोस्