काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने गृहकार्य थालिएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जेनजी आन्दोलनकारीले आगजनी गरेर क्षति पुर्याएको र नयाँ संसद भवन नबनीसकेकाले राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो ।
स्थायी सभा भनिने ५९ सदस्यीय राष्ट्रिय सभा बैठक पहिले पनि कृषि समितिको हलबाट चलाइएको थियो । पछि संघीय संसद भवन नयाँबानेश्वरमा सारिएको थियो ।
‘संघीय संसद भवन आगजनीका कारण खण्डहर भएकाले हाम्रो पहिलो प्राथमिकता त सिंहदबार भित्र निर्माणाधीन नयाँ संसद भवन नै हो । तर त्यो पनि बनिसकेको छैन,’ संघीय संसद सचिवालयका प्रवक्त एकराम गिरीले भने, ‘२०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार भित्रको पुरानो प्रतिनिधि सभाको भवनमा पनि प्रबलीकरणको काम भइरहेको छ । त्यसैले बढी उपयुक्त कृषि समितिको हल नै हुने देखिन्छ ।’
राष्ट्रिय सभा बैठक सुरु भएपछि युट्युबमा लाइभ गर्नुपर्ने र दर्शकहरु पनि आउन सक्ने भएकाले प्राविधिक तथा भौतिक पूर्वाधार न्यून खर्चमा कसरी तयार पार्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
‘नयाँ संसद भवन बनेपछि सर्न परिहाल्छ । त्यसैले कृषि समितिको हललाई सकेसम्म न्यून लगानीमा कसरी काम चलाउने भन्ने विषयमा छलफल भइरहेको छ,’ प्रवक्ता गिरीले भने ।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेको छ । स्थायी सभा भनिने राष्ट्रिय सभा भने कायमै छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल अन्तर व्यवस्थापिक संघ ९आईपीयू०को १५१ औं महासभामा भाग लिन स्विटजरल्याण्डको जेनेभा जानुअघि राष्टिं«य सभा बैठक कहाँ बस्ने भन्ने विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए । अध्यक्ष दाहाल आज स्वदेश फर्किएपछि पनि यस विषयमा थप छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्