धनगढी – कल २४ न्युज मिडिया प्रा.लि. द्वारा आयोजित ‘कल २४ न्युज फुटसल कप २०८२’ शनिबार धनगढीको बाल्मिकी फुटसल ग्राउन्डमा भव्य रूपमा सम्पन्न भएको छ।
दीपावलीको अवसरमा आयोजना गरिएको यस प्रतियोगितामा ३० वर्षभन्दा माथिका उमेर समूहका ८ टोलीहरू Dipsikha, DPS, 6AM Flatland, Buda Baagh, Buda Baagh Hunters, Balmiki International, Doctors & Engineers र Fapla ले सहभागिता जनाएका थिए।
कडा प्रतिस्पर्धापछि Dipsika टिम विजेता बनेको छ भने 6AM Flatland टिम उपविजेता बनेको छ।
विजेता टोलीलाई ३० किलो खसी, र उपविजेता टोलीलाई २० किलो खसी, साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताको उद्घाटन उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्कर राज ओझाले गरेका थिए। उद्घाटन सत्रमा राष्ट्रिय खेलाडीहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा, र विशिष्ट अतिथि उद्योग वाणिज्य संघ कैलालीका सचिव प्रकाश चन्द रहेका थिए।
त्यसैगरी नाटा सुदूरपश्चिमका अध्यक्ष पदम बिक्रम सिंह, ए.एच.टी.आई.एन. नेपालका अध्यक्ष कमल पनेरु, बाल्मिकी इन्टरनेशनल स्कूलका प्रिन्सिपल दोण्नाशिश न्यौपाने, र धनगढी प्रज्ञा सदन स्कूलका प्रिन्सिपल तिर्थराज फुलारा लगायतका अतिथिहरू उपस्थित थिए।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पुष्कर राज ओझाले छोटो समयमा उल्लेखनीय प्रगति गरेको मिडिया हाउस Call 24 News ले खेलकुद क्षेत्रमा देखाएको सक्रियताको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।
त्यसैगरी समापन समारोहमा प्रमुख अतिथि श्रवण देउवाले भने,“मिडियाको काम समाचार प्रकाशन मात्र होइन, समाजमा एकता र सहकार्य बढाउने यस्ता खेलकुद कार्यक्रमहरू पनि उत्तिकै महत्वपूर्ण छन्।”
त्यस्तै, विशिष्ट अतिथि प्रकाश चन्दले भने,“सरकारी निकाय मात्र होइन, निजी क्षेत्रले पनि खेलकुद प्रवर्द्धनमा योगदान दिनुपर्ने उदाहरण Call 24 News ले स्पष्ट दिएको छ।”
कार्यक्रमका सभापति तथा सञ्चालक भक्तराज जोशीले भने,“मिडिया र समुदायबीचको सहकार्य, मित्रता र उमंगलाई थप प्रगाढ बनाउन यो प्रतियोगिता आयोजना गरिएको हो।”
उनले छोटो समयमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी वर्ष ‘कल २४ न्युज फुटसल कप’ को दोस्रो संस्करणलाई अझ भव्य रूपमा आयोजना गर्ने योजना रहेको बताए।
कार्यक्रम भव्य र आत्मीय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्