धनगढी : आसन्न दसैँ, तिहार तथा छठ लगायतका चाडपर्वमा शान्ति–सुरक्षा, बजार व्यवस्थापन, आपूर्ति प्रणाली र यातायात सुव्यवस्थित बनाउन कैलालीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा शुक्रबार बसेको समन्वय बैठकले विशेष निर्णय गरेको छ।
बैठकले जिल्ला भित्रका सरसर्ती अवलोकन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिँदै चोरी, ठगी, कालोबजारी, अवाञ्छित क्रियाकलाप नियन्त्रणमा कडाइ गर्न, पेट्रोलियम पदार्थ तथा अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा धार्मिक–सांस्कृतिक कार्यमा हुने सम्भावित गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायलाई जिम्मेवारी तोकेको छ।
यस्तै, बजार अनुगमनलाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न, ढुवानीमा सहजता ल्याउन र कालोबजारीमा कारबाही गर्न समितिले जोड दिएको छ। चाडपर्वका समयमा अत्यधिक खपत हुने पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, मासु, तरकारी तथा मिठाई लगायतका सामग्रीको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल आयल निगम, दुग्ध विकास संस्था, नेपाल पत्रकार महासंघ लगायतका निकायसँग सहकार्य गर्ने निर्णय भएको छ।
सडक दुर्घटना नियन्त्रण तथा यातायात सहज बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय तहलाई आवश्यक तयारी गर्न भनिएको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने भीड व्यवस्थापन, करेन्ट लाग्ने सम्भावित घटनाबाट सचेत रहन, बिजुलीको अवैध प्रयोग रोक्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ। प्रमुख जिल्ला अधिकारी लम्सालले चाडपर्वमा देखिन सक्ने विभिन्न चुनौतीलाई व्यवस्थापन गर्न सबै निकायलाई समन्वय गर्दै अघि बढ्न आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस्