दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

काठमाडौं : देशमा यतिबेला चाडपर्वको माहोल छ । नेपालीहरूको महान् पर्व बडादशैं सुरु भइसकेको छ र यतिबेला धेरैजना दशैं मनाउन गाउँघर जान सुरु गरिसकेका छन् ।

तर चाडपर्वमा घुम्न जाने, परिवारसँग सामेल भएर रमाइलो गर्ने माहोलले नेपाली खेलकुद त्यसमाथि पनि क्रिकेट टोलीलाई भने छोएको छैन ।

Galaxy

बडादशैंका बेला पारिवारिक माहोलभन्दा टाढा रहेर यसपटक नेपाली पुरुष र महिला राष्ट्रिय क्रिकेट टिमले देशबाहिर आफ्नै टिमभित्र दशैं मनाउने छ ।

नेपालको पुरुष सिनियर टिम वेस्ट इन्डिजसँगको टी-२०आई शृंखला खेल्न यतिबेला यूएईमा छ । त्यसलगत्तै नेपाली टोली आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जानेछ ।

त्यस्तै नेपाली महिला राष्ट्रिय क्रिकेट टोली पनि यतिबेला मलेसियामा छ । मलेसियासँग ५ खेलको टी-२०आई शृंखला खेल्न त्यहाँ पुगेको नेपाली टोलीका खेलाडीहरू अहिले मलेसियन सुपर वुमन सिरिजमा पनि खेलिरहेका छन् ।

चाडपर्वजस्तै महत्वपुर्ण खेल

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली यतिबेला यूएईको शारजाहमा छ । शारजाह क्रिकेट रंगशालामा नेपाली टोलीले प्रशिक्षण पनि थालिसकेको छ ।

नेपालले आगामी शनिबारदेखि वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्दै छ । तीन खेलको उक्त शृंखला नेपालले खेलिरहँदा धेरै नेपाली दशैं मनाउन घर पुगिसकेका हुनेछन् ।

शनिबार हुने पहिलो खेलपछि दोस्रो खेल फुलपातीका दिन परेको छ भने तेस्रो खेल अष्टमीको दिन परेको छ । परिवारका सबैजना सँगै बसेर रमाइलो गर्दै क्रिकेटको मज्जा लिइरहँदा पर्वभित्र अर्को क्रिकेट पर्वको माहोल पनि बन्नेछ ।

यो सिरिज नेपालीहरूलाई खुसी बनाउने अवसर समेत रहेको कप्तान रोहित पौडेलले बताएका छन् । ‘हाम्रो लागि ऐतिहासिक अवसर त छ नै, नेपालीहरूलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने अवसर पनि रहेको छ’ उनले भनेका छन् ।

उनले दशैं-तिहार हरेक वर्ष आउने हुँदा कहिलेकाहीँ देशको लागि खेल्दा चाडपर्व छुट्ने र यस्तो खेलको अवसर पछि पछि नआउने भएकाले सबैजना खेलमै केन्द्रीत रहेको उल्लेख गरे ।

‘फर्कँदा विश्वकपको टिकट बोकेर आउँछौं’

कप्तान रोहितले वेस्ट इन्डिजसँगको शृंखलामा राम्रो गरेर त्यसपछि विश्वकपमा पनि छनोट हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल फर्कँदा विश्वकपमा छनोट भएर फर्कने बताए ।

‘सबैजना धेरै उत्साहित हुनुहुन्छ, वेस्ट इन्डिजलाई हराउन सक्यौं भने त्यसले एकदम राम्रो छाप छोड्छ विश्व क्रिकेटमा, सिरिज जितेपछि विश्वकपमा पनि छनोट हुनेछौं’ रोहितले भने ।

नेपालले वेस्ट इन्डिजसँगको शृंखला जितेर विश्वकपमा पनि छनोट भएर फर्किएमा त्यो नेपाली र नेपाली समर्थकहरूको लागि दशैंको उपहारसरह हुनेछ ।

टीकाकै दिन पनि राष्ट्रिय जर्सीमा

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी-२० शृंखला खेल्दै छ । पहिलो खेल दशैंको टीकाको दिन अर्थात् असोज १६ गते छ । त्यसपछि २२ गतेसम्म कूल ५ खेलहरू हुनेछन् ।

नेपाली टोलीका १४ खेलाडीहरू त्यसअघि मलेसियन सुपर वुमन सिरिजमा विभिन्न ५ टोलीहरूबाट खेलिरहेका छन् । यी खेलहरू बुधबारदेखि सुरु भइसकेका छन् ।

सोही सिरिजमा खेलिरहेकी महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै क्रिकेट आफ्नो कर्तव्यका रूपमा रहेकाले चाडपर्वभन्दा पनि खेलहरू महत्वपूर्ण हुने बताइन् ।

‘हाम्रो लागि क्रिकेट नेशनल ड्युटी नै हो, चाडपर्वमा सहभागी हुन नपाउनु दु:खद कुरा त हो तर त्योभन्दा बढी हाम्रो लागि यसरी बाहिर गएर खेल्न पनि महत्वपूर्ण छ’ पूजाले अनलाइनखबरसँग भनिन् ।

अहिले भइरहेको सिरिजका बारेमा कुरा गर्दै उनले यो अनुभव बटुल्ने राम्रो अवसर भएको बताइन् । ‘जुनियर खेलाडीलाई पनि यहाँ राम्रो प्रदर्शन गरेर नेपालका लागि खेल्ने अवसर मिलेको छ’ उनले भनिन्, ‘यसले ग्लोबल छनोटका लागि पनि हाम्रो आत्मविश्वास बढाउने छ।’

नेपाली महिला टोली मलेसियासँग ५ खेलको शृंखला खेलेर स्वदेश फर्कने छ ।

कुन कुन खेल हुँदैछन् ?

पुरुष टोली

११ असोज- नेपाल भर्सेस् वेस्ट इन्डिज पहिलो टी-२०आई

१३ असोज- नेपाल भर्सेस् वेस्ट इन्डिज दोस्रो टी-२०आई

१४ असोज- नेपाल भर्सेस् वेस्ट इन्डिज तेस्रो टी-२०आई

२२ असोज- नेपाल भर्सेस् कुवेत (विश्वकप छनोट)

२४ असोज- नेपाल भर्सेस् जापान (विश्वकप छनोट)

२६ देखि ३१ असोज- अघिल्लो चरणका खेलहरू

महिला टोली

८ देखि १४ असोज- मलेसियन सुपर वुमन सिरिज

१६ देखि २२ असोज – नेपाल र मलेसियाबीच टी-२०आई शृंखला

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार