यूएईपछि नेपालीलाई भिसामा कडाइ गर्दै मलेसिया, कतार र साउदी

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेसँगै मलेसिया सहितका देशले पनि  कडाइ गर्न थालेका छन् ।

२३ र २४ भदौमा नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको छ । अहिले यूएईसँगै मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ गर्न थालेका हुन् ।

Galaxy

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले मलेसिया सहित अन्य खाडी देशले समेत भिसा दिन कडाइ गर्न थालेको बताए ।

यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज  भिसा दिन छाडेको उनको भनाइ छ । ‘दुई/तीन दिनयता अनेकन कागजात मागिरहेका छन् । प्रहरी रिपोर्ट पनि तत्कालको मागिरहेका छन् । कतिपयको रिजेक्ट पनि भइरहेको छ,’ डिम्दोङले भने ।

यूएईले भिजिट भिसामा पूर्णरूपमा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गर्दै आएको छ । जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरू आफ्नो देशमा पस्न सक्नेतर्फ सचेत हुँदै यूएईले भिसामा कडाइ गरेको जनाइएको छ । तर, यूएईले यसबारे कुनै आधिकारिक जानकारी भने गराएको छैन ।

यूएईले आन्तरिक व्यवस्थापन कारण देखाउँदै भिसामा रोक तथा कडाइ गरेको समेत भन्ने गरिएको छ । त्यससँगै सुरक्षा चुनौतीका कारण समेत रोक लगाएको यूएईका व्यवसायीहरूले नेपाली व्यवसायीहरूलाई जानकारी गराएका छन् ।

यूएईपछि मलेसिया, साउदी र कतारले समेत भिसामा कडाइ गरेको मेननपावर व्यवसायीहरूको भनाइ छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसिया, साउदी र कतारले समेत भिसामा कडाइ गरेका छन् ।

नेपालीलाई भिसामा कडाइ गरेपछि परराष्ट्र मन्त्रालयले राजदूतावासहरूसँग बैठक आह्वान गरेको छ । भोलि मंगलबार राजदूतावासहरूसँग मन्त्रालयले छलफल गर्न लागेको हो । पछिल्लो समय उत्पन्न परिस्थितिका विषयमा छलफल हुनेछ ।

मेननपावर व्यवसायीहरूका अनुसार मलेसिया, कतार र साउदीले समेत वर्किङ भिसामा जाने श्रमिकका हकमा विभिन्न कागजात माग गरिरहेका छन् । विगतको तुलनामा पछिल्ला दिनमा सहज भिसा उपलब्ध नभएको डिम्दोङले बताए ।

यूएईलाई देखेर अन्य देशले समेत भिसामा कडाइ गरेको हुन सक्ने उनको अनुमान छ ।

यूएईमा भिजिट भिसा बन्द गरेपछि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई समेत भिसा दिन अस्वीकार गरेको थियो । वेस्ट इन्डिजसँगको टी–२० आई शृङ्खला खेल्न यूएई जान लागेका खेलाडीलाई भिसा दिन अस्वीकार गरेको थियो । पछि भिसा पाएका थिए ।

यूएईले भिसामा कडाइ गर्दा भिजिट भिसामार्फत गएकाहरू समस्यामा परेका छन् । नेपालबाट वैदेशिक रोजगारीका यूएई जाने दैनिक ५ सयभन्दा बढी नेपाली अन्योलमा परेका छन् ।

यूएईले वर्किङ भिसाका हकमा भने तत्कालको प्रहरी रिपोर्टका आधारमा जान दिइरहेको र नयाँका हकमा भने अस्वीकृत भइरहेको मेननपावर व्यवसायीहरूको भनाइ छ ।

मलेसिया, कतार र साउदीका हकमा समेत हिजोआज अस्वीकृत हुने दर बढेको डिम्दोङको भनाइ छ । उनका अनुसार भिसाका लागि आवेदन दिँदा समेत थप कागजात माग्ने गरिएको छ ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक रहेका यूएई, मलेसिया, साउदी र कतारले नेपालको सुरक्षा चुनौती मध्यनजर गर्दै भिसामा कडाइ गरेको हुन सक्ने व्यवसायीहरूको भनाइ छ ।

यूएईका व्यवसायीहरूले नेपाली मेननपावर व्यवसायीलाई दिएको जानकारी अनुसार पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षा कारण देखाउँदै संघीय प्राधिकरणले लेनदेन अस्वीकार गरेको जनाएका छन् ।

जसका कारण भिसाका लागि दिइएको आवेदन अस्वीकृत गरिएको जानकारी आइरहेको छ । भिसाका हकमा ‘यो व्यक्तिका लागि भिसा जारी गर्न सकिँदैन’ भनेर अस्वीकृत गर्दै आएको छ । पछिल्लो समय भिसा आवेदन दिएका सबैको अस्वीकृत भइरहेको डिम्दोङले बताए ।

यूएईका हकमा नयाँ भिसा जारी नभए पनि यसअघि नै भिसा जारी भइसकेका हकमा भने जान पाइरहेका छन् । यूएईले सुरक्षा कारण देखाउँदै भिसा दिन बन्द गरेसँगै दैनिक ५ सयभन्दा बढी नेपाली यूएई जानबाट रोकिएका छन् ।

गत वर्ष सबैभन्दा बढी नेपाली यूएई नै गएका थिए । यो आर्थिक वर्ष दुई महिनामा मात्रै ५० हजार नेपाली रोजगारीका लागि यूएई गएका छन् । यूएईले ३० भदौदेखि भिसा दिन रोकेसँगै नेपाली अन्य मुलुकको विकल्प खोज्न थालेका हुन् ।

गत वर्ष ४९ हजार १ सय ८७ जनाले मलेसियाका लागि श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका थिए । त्यस्तै १ लाख ५२ हजार ५ सय ५७ जनाले साउदी र ४२ हजार ९ सय ८६ जनाले कतारका लागि श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार