धनगढीः कैलालीको गोदावरी नगपालिका वडा नम्बर १ मा रहेको एमाले नेता एवं पूर्व मन्त्री लेखराज भट्टको घर जलाउनेमा एमाले र राप्रपाका नेताको संलग्नता रहेको पाइएको छ। नेता भट्टको घर जालाउन एक जना सरकारी कर्मचारी समेत पुगेको तथ्य खुलेको छ।
एमाले पोलिटव्युरो सदस्य समेत रहेका भट्टको घर भदौ २४ गते जलाइएको थियो। जेन्जी आन्दोलनमा घुसपैठ गरी घर जलाइएको नेता भट्टका भाइ गोकर्ण भट्टले बताएका छन्। भट्टले आफ्ना दाजुको दुई वटा घर, ट्याक्टर, अनाज र लत्ताकपडामा आगजनी गरिएको बताए। उनले घरमा आगजनी गर्नुभन्दा अगाडि लुटपाट गरिएको बताएका छन्। उनले भाउजूको २२ तोला सुनको गरगहना, तीन लाख नगद र अन्य जिन्सी मालसमानसहित पाँच करोडभन्दा बढीको क्षति भएको बताएका छन्।
भट्टले जेन्जी आन्दोलनकारीको नाममा ३० वर्षभन्दा माथिको व्यक्तिहरूले लुटपाट, तोडफोड र आगजनी गरेको बताए। ‘ दाजुको घरमा लुटपाट तथा आगजनीमा नेकपा एमाले कैलाली जिल्ला लेखा समितिका सदस्य बालकृष्ण भट्टराई, राप्रपाका स्थानीय नेता दुर्गा पोखरेल र कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका हलुका सवारी चालक बामदेव अवस्थी रहेको कुरा हामीले पहिचान गरिसकेका छौँ,’ उनले भने, ‘स्थानीय युवा रोहन बिष्टले भिडियो बनाउँदै लुटपाट र आगजनी गरेको देखिएको छ। यो समूहले नै गोदावरीका मेयर वीरेन्द्र भट्टको घरमा पनि लुटपाट र आगजनी गरेको हो।’
पूर्व मन्त्री भट्टको घर जलाउन र लुटपाट गर्न ठुलो संख्यामा मानिसहरू पुगेको भट्टले बताएका छन्। उनले ती व्यक्तिहरूको पहिचान गरेर प्रहरीमा जाहेरी दिने बताए।
प्रतिक्रिया दिनुहोस्