धनगढी : भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा सुदूरपश्चिमका ९ जनाले ज्यान गुमाएका छन् । आन्दोलनका क्रममा पहिलो दिन ३ जना र दोस्रो दिन ४ जनाले ज्यान गुमाएका हुन । जसमा २ जनाले भने आन्दोलनकै क्रममा कारागारबाट भाग्दै गर्दा ज्यान गुमाएका छन् ।
भदौ २३ गतेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर धनगढी उपमहानगरपालिका – ५ तारानगरका गौरव जोशीको निधन भएको थियो । २७ वर्षीय गौरव ३ वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लस टु सकेर काठमाडौँ गएका थिए । गौरवले युके जाने तयारीमा थिए । जेनजी आन्दोलनमा गौरव अस्ताउँदा वृद्ध आमाबुबाको सहाराको टेको नै ढलेको छ ।
भदौ २३ गते प्रहरीको गोली लागेर खप्तड छान्ना गाउँपालिका–७, गोर्खाली गाउँमा सुवास बोहराको पनि निधन भएको छ । २१ वर्षीय गौरव भाषा परीक्षा पास गरेर जापान जाने तयारीमा थिए । तर, जापानको भिसा लागेको केही दिनमै उनका बुबा दीपक बेपत्ता भएपछि उनको जापान जाने सपनामा ब्रेक लागेको थियो ।
त्यसपछि भारतको बेङलुरु पुगेर फेरी आमाले जापान पठाउने ढाडस दिएपछि काठमाण्डौं फर्किएका उनी संसद् भवन अगाडिको गेटमा गोली लागेर निधन भएको थियो । छोरोलाई जापान पठाउन भारतको बेङलुरुबाट मजदुरी गर्दै गरेकी आमा र सुवासँगै काठमाण्डौमा बस्दै गरेका भाइको बिचल्ली भएको छ ।
भदौ २३ गते आन्दोलनका क्रममा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ सुपाना गाउँका २१ वर्षीय योजन बुढा (ओजन) को पनि निधन भएको छ । उनी काठमाडौँको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए । काठमाडौँमा डेरा गरी बस्ने योजनका बुवा मअडीपालले भारतमा मौसमी मजदुरी गर्दै आएका थिए । प्रदर्शनका क्रममा बेपत्ता भएका योजनलाई टाउकामा गहिरो घाउ र एउटा हात भाँचिएको अवस्थामा आफन्तले अस्पतालमा शव फेला पारेका थिए ।
भदौ २४ गते कालीमाटीमा प्रहरीले चलाएको गोली लागेर बझाङका २८ वर्षीय भीमराज धामीको पनि निधन भएको थियो । कीर्तिपुर बस्ने भीमराज कृषि व्यवसायी थिए । उनकी श्रीमती, २ महिनाका छोरा र ७५ वर्षकी आमा छन् ।
भदौ २४ गते प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका ४८ वर्षीय नीरज पन्तको पनि निधन भएको छ । उनी श्रीमती सँगै काठमाडौँको महाराजगन्जमा आयुर्वेदिक औषधि व्यवसाय गर्थे । २५ वर्षअघि काठमाडौँ छिरेका उनी उतै व्यवसाय गरेर बस्दै आएका थिए ।
२४ भदौको प्रदर्शनमा गोली लागेर गम्भीर घाइते भएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको पनि उपचारका क्रममा निधन भएको छ ।
काठमाडौँको कीर्तिपुरमा बसेर कोरियन भाषा सिकिरहेका उनलाई बुवा कालु सिंहले जेनतेन गरेर छोरालाई भाषा कक्षा लिन काठमाडौँ पठाएका थिए । गोली लागेर गम्भीर घाइते भएका दीपकको शुक्रवार साँझ ८ बजे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
भदौ २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनमा महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तम सिंह थापाको पनि निधन भएका थियो । दार्चुलाको लेकम गाउँपालिका– ३ लाली घुम्खोली थापालाई आन्दोलनकारीले डिएसपी भन्दै क्रूर रूपमा कुटाकुटी गरेर हत्या गरेका थिए ।
बाल सुधार गृहमा २ जनाको मृत्यु
२४ भदौ राति बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा रहेका बालबिज्याइकर्ता भाग्न खोज्दा प्रहरीले गोली लागेर ५ जनाको निधन भएको थियो । जसमध्ये २ जना सुदूरपश्चिमका रहेका छन् ।
गोली लागेर निधन हुनेमा अछामका २१ वर्षका उमेश विष्ट, कैलालीका १९ वर्षका जगत देउवा रहेका छन् । उनीहरू जबरजस्ती करणी मुद्दामा बाल सुधार गृह पुगेका थिए ।
जेन जी आन्दोलनका क्रममा देशभर भदौ २३ गते २१ जना र भदौ २४ गते ५२ जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस्