काठमाडौँ : संसदीय विषयगत समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थालेका छन् ।प्रतिनिधि सभा विघटन भएपछि उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गर्न थालेका हुन् ।
प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति छ । दुई वटा संयुक्त समिति छ । संयुक्त समितिमा समेत प्रतिनिधि सभा अन्तर्गतका सांसद नै सभापति थिए । १२ वटा विषयगत समितिका सभापतिमध्ये ६ वटा विषयगत समितिका सभापतिले गाडी फिर्ता गरेका छन् ।
सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले गाडी फिर्ता गरेका थिए । त्यसपछि महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले गाडी फिर्ता गरे ।
नेकपा एमालेकी सचेतक सुनिता बरालले पनि गाडी फिर्ता गरिसकेकी छन् । अर्थ समितिका सभापति सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुमदेवी थापाले गाडी फिर्ता गरेका छन् ।
बाँकी संसदीय विषयगत समितिका सभापतिले औपचारिक रूपमा गाडी वा गाडीको चाबी फिर्ता गर्न बाँकी रहेको संसद सचिवालयको सवारी शाखाले जनाएको छ । कतिपयको गाडी संसद सचिवालयमै रहेको तर, चाबी मात्रै फिर्ता गर्न बाँकी रहेको सवारी शाखाको भनाई छ ।
राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरीदेवी न्यौपाने, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाको गाडी संसद सचिवालयमै छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेको गाडी पनि संसद सचिवालयमै छ । अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले पनि गाडी बुझाउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्