धनगढी : कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) प्रशासन कार्यालयमा लगाइएको ताला खुलेपछि दूधको भुक्तानी सुरु गरिने भएको छ।
जेठ ८ गते देखि लगाइएको ताला मंगलवार खुलेपछि आज (बुधवार)देखि किसानको दूधको भुक्तानी दिन सुरु गरिने गरिने डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराइले बताए। उनले मंगलवार ताला खुलेको भए पनि किसानको भुक्तानी भने बुधवारबाट सुरु हुने बताए। उनले बिदा भए पनि भुक्तानीको काम नरोकिने बताए। उनले पहिलो चरणमा तत्काल डेढ करोड रुपैयाँ दूधको भुक्तानी गरिने बताए।
डीडीसीको गत वर्षको माघ यताको दूधको भुक्तानी हुन बाँकी रहेको छ। माघदेखि हालसम्म करिब साढे ६ करोड भुक्तानी गर्न बाँकी भए पनि २÷३ दिन भित्रमा माघ महिनाको डेढ करोड भुक्तानी गरेर बाँकी भुक्तानी नियमित रूपमा गर्दै जाने कार्यालय प्रमुख भट्टराइले बताए। हाल डीडीसीले कैलाली, कञ्चनपुर र डडेल्धुराबाट दूध सङ्कलन गर्दै आएको छ। डीडीसीले ५९ वटा सहकारी, समूह र कृषि फारमबाट दूध सङ्कलन गर्दै आएको छ।
डीडीसीले हाल दैनिक २ हजार ५ सयदेखि ३ हजार लिटर सम्म दूध सङ्कलन गरिरहेको कार्यालय प्रमुख भट्टराइले बताए। उनले वैशाखदेखि असोजसम्म दैनिक २ हजार ५ सयदेखि ३ हजार लिटर र कार्तिकदेखि चैत सम्म साढे ६ हजार लिटर सम्म दूध सङ्कलन हुने गरेको बताए। डीडीसीको दूधको भुक्तानी देशैभर रोकिएको भए पनि अत्तरियामा करिब ४ महिनादेखि तालाबन्दी हुँदा भुक्तानीको काम ठप्प भएको थियो।
स्थानीयले डीडीसी धनगढी सार्न नहुने भन्दै तालाबन्दी गरेका थिए। डीडीसी केन्द्रीय कार्यालयले स्थानीयको माग बमोजिम तत्काल डीडीसी नसार्ने आशयको पत्र डीडीसीको केन्द्रीय कार्यालयले पठाएपछि मंगलवार ताला खुलेको हो। डीडीसी धनगढी सार्ने तयारी पछि स्थानीयले विरोध गर्दै जेठ ८ गते डीडीसी अत्तरियामा तालाबन्दी गरेका थिए। यद्यपि तालाबन्दीका बिच डीडीसीको प्रशासनिक कार्यालय धनगढी सारिएको थियो।
भदौ २९ गते डीडीसीको केन्द्रीय कार्यालयका निमित्त महाप्रबन्धक सञ्जीव झाले डीडीसी अत्तरियालाई पठाएको पत्रमा आयोजनालाई धनगढीको कनेरीमा स्थानान्तरण गर्ने विषयलाई लिएर तालाबन्दी भएकाले हाललाई प्रशासनिक, आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण काम यथास्थानबाट गर्न भनिएको छ। उक्त पत्रका गोदावरी नगरपालिकालाई बोधार्थ राखिएको छ।
डीडीसी केन्द्रीय कार्यालयको पत्राचार पछि मंगलवार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले तालाबन्दी खोल्ने निर्णय गरिएको थियो। बैठकमा गोदावरी नगर प्रमुख वीरेन्द्र भट्ट, डीडीसीका प्रबन्धक निरञ्जन भट्टराई, डीडीसी संघर्ष समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो। सर्वदलीय बैठकमा डीडीसीको ताला खोल्ने र दसैँ भित्र किसानको दूधको भुक्तानी गर्ने, गोदावरी नगरपालिकाको प्रतिबद्धता अनुसार डीडीसीको दिगो व्यवस्थापनको लागि जग्गा उपलब्ध गराउने निर्णय भएको संघर्ष समितिका संयोजक लोक राज पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस्