धनगढी : आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ। यो पर्व हरेक वर्ष असोज १ गते मनाउने गरिन्छ ।यो पर्वको तयारी भदौ १ गतेबाटै सुरु हुन्छ । भदौ १ गतेका दिन गाउँ नजिको डाँडामा सबै मिलेर रूखका हाङ्गाबिङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । त्यही थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिन्छ।
त्यसको ठीक एक महिनापछि अर्थात असोज १ गते सबै गाउँले एकै ठाउँमा भेला भएर सो बढीलाई जलाउँछन्।यसरी बुढी जलाउँदा खुसीयालीमा सबैले लगेर गएका आ-आफ्नो बारीमा फलेका काँक्रा काटेर एकअर्कालाई बाँडेर खाने गर्छन्। यस दिन रोग र नकारात्मकताबाट मुक्ति पाउने जनविश्वास रहेको छ।
यो पर्व सुदूरपश्चिमबासीको धार्मिक,सामाजिक र सांस्कृतिक एकताको पर्व पनि हो।यसलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ ।भगवान् कृष्णलाई पुतना राक्षसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवान्ले पुतना राक्षसनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको शवलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्राटुक्रा पारेको दिनको सम्झनामा भदौ १ गते बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ ।
तर,पछिल्लो समय आधुनिकताका साथै युवापुस्ताले खासै ध्यान नदिँदा यो पर्व लोप हुँदै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्