काठमाडौँ — भदौ २३ गतेको जेन-जी आन्दोलनमा युवाहरू मारिएपछि नुवाकोट-१ ककनीका शुभराज बलामी श्रेष्ठ आन्दोलन गर्न भन्दै काठमाडौं हिँडेका थिए ।
साथीहरूसँगै काठमाडौं आएर २४ गतेको प्रर्दशनमा उनी सहभागी भएका थिए । साथीहरू घर फर्किए तर ३२ वर्षीय शुभराज फर्केनन । २५ गते राति मात्रै परिवारले वीर अस्पतालमा अचेत अवस्थामा रहेको जानकारी प्राप्त गरेको सानुबुवा सन्तबहादुर श्रेष्ठले बताए । ‘ककनी कागतीगाउँबाट ऊ आन्दोलन गर्न भनेर हिँडेको रहेछ । घाइते भएर वीर अस्पताल लगिएको रहेछ । आफन्त कोही नभेटिएपछि टिकटकमा हालेको भिडियोबाट अस्पतालमा रहेको थाहा पायौं,’ उनले भने ।
सामाजिक सञ्जालमा टाउकोमा गोली लागेर सख्त घाइते शुभराज अस्पतालको बेडमा छटपटाइरहेको भिडियो भाइरल नै बनेको थियो । आमा भगवतीको हेरचार गर्दै चालक पेसा गरेर उनी गाउँमा नै बसेका थिए । दुई बहिनीको विवाह भइसकेको र बाबु रामकृष्ण बलामी १०/१२ वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेको सन्तबहादुरले सुनाए ।
‘थुप्रो ऋण लागेको थियो । जग्गा जमिन धितोमा राखिएको छ । ऋणको बोझले रामकृष्ण गाउँ छाडेर हिँडेको बुझिएको छ,’ उनले भने । आफन्त वीर हस्पिटल पुग्दा उनको ढुकढुकी मात्र फेला परेको उनले बताए । ‘अचेत अवस्थामा रहेछ । भेन्टिलेटरमा राखिएको रहेछ । त्यसैको सहयोगले ढुकढुकी मात्र चलेको रहेछ,’ उनले कान्तिपुरसित टेलिफोनमा थपेँ, ‘डाक्टरले टाउकोमा गोली छ, अपरेशन गरेर निकाल्नुपर्छ भन्दै थिए । त्यो निकाल्न पनि होस खुल्नुपर्छ भनेका थिए । ब्रेनसम्म असर पगेको छ । होस खुलेन, छोरा सधैंका लागि अस्तायो ।’ उनले अगाडि भने,‘डाक्टरले नै बचाउन सक्दिनँ भनेपछि कसको के लाग्यो ?’
२९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमर्टमपछि पशुपतिमा अन्तिम संस्कार गरेर बलामी परिवार नुवाकोट फर्किएको छ । बालाजु प्रहरी वृत्त तोडफोडका क्रममा उनलाई प्रहरीले चलाएको गोली लागेको हुनसक्ने अनुमान आफन्त र साथीभाइले गरेका छन् ।
‘आमा भगवती खुट्टामा चोट लागेर अपरेशन गरी बस्नु भएको छ । विवाह भएका बहिनीहरू आ-आफनो घरमा छन् ।, बुवा रामकृष्ण सर्म्पकमा आएका छैनन्,’ उनले भने, ‘परिवारमा साह्रै दुःख र संकटको दिन आएको छ ।’ शुभराज अविवाहित थिए । ७ दिनपछि बहिनीहरूले उनको काजकिरिया गर्ने तयारी गरेका छन ।
प्रतिक्रिया दिनुहोस्