काठमाडौं।यस वर्षको दशैं आउन अब एक हप्ता मात्रै बाँकी छ।यही असोज ६ गते घटस्थापना पर्न गएको छ तर हालसम्म पनि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छैन।
नयाँ सरकार गठनसँगै ‘जेनजी’ आन्दोलनपछि लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेको छ र जनजीवन सामान्य बन्दै गएको छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात गत शुक्रबारदेखि सञ्चालनमा आइसके पनि अग्रिम टिकट भने अझै खुलाइएको छैन ।आन्दोलनकै कारण यसमा असर परेको सरोकारवालाहरू बताउँछन्।
यसअघि यातायात व्यवसायी र सरकारबीच भदौ २९ गतेदेखि अग्रिम टिकट खोल्ने सहमति भएको थियो।तर, आन्दोलनले गर्दा प्रक्रिया अघि बढ्न सकेन।आन्दोलन रोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीबीच शनिबार भएको छलफलमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन भएको छ।तर अग्रिम टिकटबारे कुनै टुंगो लाग्न सकेन।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हाल काठमाडौं उपत्यकामा रोकिएका यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा पठाउने निर्णय भएको छ।पहिलो प्राथमिकतामा काठमाडौंमा अड्किएका यात्रुलाई पठाउने सहमति भयो, अग्रिम टिकटबारे भने अझै निर्णय हुन बाँकी छ,” उनले भने।
प्रकाशित तथ्यांकअनुसार, प्रत्येक वर्ष करिब २० लाख यात्रु दशैं मनाउन उपत्यकाबाट बाहिरिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्