काठमाडौं : राजु बम्जन पेशाले अधिवक्ता हुन् । उनलाई १० बजेदेखि कर्फ्यू लाग्दैछ भन्ने थाहा नहुने कुरै थिएन । दुई दिनअघिको प्रदर्शनबाट अड्डाअदालतहरू जलेर ध्वस्त भएकाले उनलाई कामको दौडधुप थिएन ।
तर, उनी सदाझैं आज पनि ल–फर्म जाने तयारीमा निस्किए । सेतो सर्ट, कालो पाइन्ट लगाए, सर्टमाथि कालो कोट भिरे । अनि कोटमा बार काउन्सिलले दिएको लोगो हाले । हातमा संविधान च्यापे । जुत्ता लगाएर घरबाट निस्किए । सोझै माइतीघर मण्डलामा पुगे ।
माइतीघर मण्डलाको सडकछेवैमा एउटा थोत्रोजस्तो देखिने प्रतिक्षालय छ, फलामको पाइपहरू वेल्डिङ गरी बनाइएको कुर्सीमा बसेर रातो कभर भएको संविधानको किताब निकाले, अनि पढ्न थाले । उनले त्यसो गर्दा बिहान करिब साढे ९ बजेको थियो ।
केहीबेरमा सैनिक टोलीहरू उनको छेवैमा गए र केरकार गर्न थाले । उनीहरूले नाम ठेगाना सोधे, पेशा सोधे अनि भने, ‘केहीबेरमा कर्फ्यू लाग्दैछ, तपाई यहाँ किन आउनुभएको ?’
अधिवक्ता बम्जनले संविधान देखाउँदै भने, ‘तपाईंहरू संविधानमा व्यवस्था भएको नेपाली सेनाको कमाण्डरको आदेश अनुसार हतियार बोकेर आफ्नो कर्तव्य पालनामा हिंड्नुभएको छ । म पनि संविधानले दिएको दायित्व अनुरुप नै यहाँ आएर बसेको छु ।’
त्यसपछि सैनिकहरूले कमाण्डरहरूले मोनिटरिङ गरिरहेको भन्दै आफूहरूलाई अप्ठेरो नपारिदिन र गइदिन आग्रह गरे । त्यसक्रममा करिब १०/१५ पटक सैनिकहरू आए, केरकार गरे र त्यहाँबाट गइदिन आग्रह गरिरहे ।
आफू एउटा महत्त्वपूर्ण सन्देश दिन सांकेतिक रुपमा त्यहाँ पुगेको अधिवक्ता राजु बम्जन बताउँछन् ।
‘म जेनजी आन्दोलनको समर्थन गर्छु, उनीहरूको भावनाको साथमा छु,’ उनले भने, ‘तर अहिले देखिएको संकटको निकास संविधानको दायराभित्रबाटै खोजिनुपर्छ, त्यसबाट दाँयाबाँया हुने छुट संविधानले दिएको छैन । त्यो सन्देश दिन मैले माइतीघरमा बसेर संविधान पढ्ने निधो गरेको हुँ ।’
सैनिकहरूले पटकपटक आग्रह गरेपनि उनले संविधान देखाइरहे । आफू संविधान पढ्न माइतीघरमा आएको, एक्लै आएकाले हुलहुज्जत र शान्तिसुरक्षा बिथोल्ने उद्देश्य नभएको भन्दै सरसर्ती एकपटक संविधान पढेपछि आफू फर्किने बताए । त्यतिञ्जेल सहयोग गरिदिन उनले सैनिकलाई आग्रह गरे ।
त्यसक्रममा अरु केही कानून व्यवसायी पनि पोशाकबिना माइतीघरमा पुगेका थिए र उनलाई ‘तपाईंको अभियानमा हाम्रो समर्थन छ’ भनेका थिए । तर, बम्जन केही बोलेनन् । सैनिकहरूले अन्य व्यक्तिहरूलाई त्यहाँबाट धपाए ।
बिहीबार केही व्यक्तिहरूले माइतीघर मण्डलामा उपस्थित भएर प्रदर्शन गर्न खोजेका छन् भन्ने सूचना पाएको सेनाले त्यस वरपरको सुरक्षाव्यवस्था अत्यन्त कडा पारेको थियो । निकैबेरको केरकार र परिचयपत्र हेरेर मात्रै त्यहाँ वरपर जान दिएको थियो । सैनिक मुख्यालय जंगीअड्डाका विभिन्न निकायहरू रहेको भद्रकालीको ठिक अघिल्तिर रहेको र अरुबेला नियमित प्रदर्शन हुने ठाउँ नै रोजेर अधिवक्ता बम्जन त्यहाँ पुगेका थिए ।
एकपछि अर्का सैनिकहरू पटकपटक उनलाई त्यहाँबाट हट्न आग्रह गरे । अन्तत: साढे ९ बजे त्यहाँ पुगेका उनी एक घण्टापछि अर्थात् साढे १० बजे मात्रै त्यहाँबाट हिँडे ।
अधिवक्ता बम्जनले संविधान पढिरहेको फोटो केही फोटो पत्रकारहरू खिचे । त्यसपछि उनलाई सैनिकहरूले केरकार गरेको फोटो पनि सञ्चारमाध्यमहरूमा सम्प्रेषण भयो । हतियारसहित उभिएको सैनिकले संविधान पढिरहेको कानून व्यवसायीलाई केरकार गरेको फोटो सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेको छ ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका कानून व्यवसायी बम्जन २०७२ सालमा नेपालको संविधान जारी भएपछि नेपाल ल क्याम्पसमा कानून पढ्न थालेको बताउँछन् । ४/५ वर्षदेखि कानून व्यवसायमा सक्रिय उनी अहिले कानूनमा स्नातकोत्तर गरिरहेका छन् ।
संविधान जारी हुँदा र त्यसपछिका घटनाक्रमले प्रेरित गरेर आफूले कानून पढेको बताउने उनले संविधानप्रतिको अपनत्वले त्यसको दायराभित्रैबाट निकास खोज्नुपर्ने बताउँछन् । उनले भने, ‘त्यही सन्देश प्रवाह होस् भनेर नागरिकहरूले आफ्नो विचार प्रकट गर्ने ठाँउ माइतीघर मण्डलामा गएर संविधान पढेको हुँ ।’
प्रतिक्रिया दिनुहोस्