धनगढी : जेनजी प्रदर्शनका क्रममा असमान्य बनेको धनगढीको जनजीवन पूर्ववत बन्न थालेको छ।
शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमशःशान्त बन्न थालेको हो। धनगढी सहित आसपासका क्षेत्रमा सेनाले गस्ती गर्न बढाएको छ। बजार क्षेत्रमा छिटपुट पसल खुल्न थालेका छन् । सडकमा निजी यातायातका साधन आवतजावत गर्न थालेका छन्।
प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएका थिए । कैलाली जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। कतिपय कार्यालयमा आज विहानसम्म आगो पनि निभेको थिएन। स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञागर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएका थिए। जारी गरिएको निषेज्ञा यथावत छ।
यस्तै प्रदेशसभा सचिवालय, प्रदेशसमन्वय समितिको कार्यालय,उद्योग पर्यटन वन तथा वातावरण,आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय, मुख्य न्यायधीवक्ता,भन्सार,यातायात,मालपोत र नापी कार्यालय लगाएत दर्जनौ सरकारी कार्यालयमा तोडाफोड गरिएको छ ।
प्रदर्शनका क्रममा सरकारी नम्बर प्लेटका गाडी र मोटरसाइलमा पनि आगो लगाइएको छ। धनगढीस्थित जिल्ला कारागारमा प्रदर्शनकारीबाट आक्रमण गरिएपछि बन्दीगृहका कैदीबन्दी फरार भएका छन्।
प्रतिक्रिया दिनुहोस्