काठमाडौं : सरकारले दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेको पाँच दिन भयो ।
यसप्रति नागरिकस्तरमा आक्रोश छ । जेनजीले देशभर प्रदर्शन नै गरेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
तर, समामाजिक सञ्जाल बन्द्रप्रति संसद् र संसदीय समितिहरू मौन रहेका छन् ।
सभामुख देवराज घिमिरेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो रोखका छन् ।
संसद् सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।
तर, सामाजिक सञ्जाल बन्दको विषयमा भने संसद् र संसदीय समितिमा कुनै प्रकारको छलफल भएको छैन । कुनै पनि समितिले यो विषयलाई विषय मानेर छलफल गर्न आवश्यक ठानेका छैनन् ।
प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति नै छ । यो समितिले पनि सामाजिक सञ्जाल बन्दप्रति चासो राखेको छैन ।
यो समितिको बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकको कार्यसूचीमा ‘स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल’ गर्ने रहेको छ ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा विष्यागत समिति छन् । दुई वटा संयुक्त समिति छ । १६ वटै समितिले सामाजिक सञ्जाल बन्दको विषयलाई छलफलको विषय बनाएका छैनन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा पनि यो विषय एजेण्डाको रुपमा प्रस्तुत भएको छैन । आज दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक पर्सि बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्