काठमाडौँ : नयाँ पुस्ताका युवा (जेनजेड)हरुले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध माइतीघर मण्डलामा सशक्त प्रदर्शन गरेका छन् । स्वत:स्फूर्त रुपमा भेला भएका उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरे । कतिपय विद्यार्थी स्कुल र कलेजको पोशाकमै सडकमा उत्रिएका छन् ।
यसअघि सामाजिक सञ्जालमा सीमित आक्रोशलाई पहिलोपटक सडकमा उतारेका जेनजेडलाई विभिन्न पेशा, व्यवसायी, कलाकार र स्वतन्त्र युवाले समर्थन गरेका छन् । उनीहरुले राजनीतिक दलका भ्रातृ संगठनलाई भने प्रदर्शनमा नआउन आग्रह गरेका छन् ।
सुरक्षा संवेदनशीलता बढेपछि माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । काठमाडौँ प्रहरी परिसरका एक अधिकारीका अनुशार माइतीघर र बानेश्वर क्षेत्रमा सुरक्षा कडाई पारिएको छ ।
प्रदर्शन स्थलमा ६ जना डीएसपीसहित करिब पाँच सय प्रहरी खटिएका छन् । उपत्यकाभर करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनको प्रकृतिअनुसार रणनीति परिवर्तन गर्ने निर्णय पनि गरेको थियो ।
युवाहरूले सामाजिक सञ्जालमार्फत ‘नेपो बेबी’ ट्रेन्ड समेत चलाएका छन् । नेताका छोराछोरीले पदको आडमा विशेष सुविधा लिएको भन्दै उनीहरूको विरोध सुरु भएपछि नेताका निवास वरिपरि पनि सुरक्षा कडाइ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्