रुपन्देही-३ उपचुनाव : टिकट वितरणमा फरक शैली अपनाउँदै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले रुपन्देही–३ को उपचुनावमा उम्मेदवार चयन गर्दा विगतभन्दा भिन्न शैली अपनाउने भएको छ । केन्द्रको निर्देशनअनुसार तल्लो तहले आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्ने पद्धतिलाई यसपटक निरन्तरता नदिने भएको छ ।

उम्मेदवार चयनमा भिन्न शैली अख्तियार गर्न दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अवधारणामा ‘आइडिया फोर’ अवलम्बन गरिएको छ ।

Galaxy

कांग्रेसको विधानअनुसार एक महिलासहित तीनजना आकांक्षीको नाम उपल्लो तहमा सिफारिस गर्ने व्यवस्था छ । उक्त व्यवस्था हाल लागु नगरी उम्मेदवार चयन गर्न लागिएको छ ।

आइडिया फोरअन्तर्गत रहेर उम्मेदवार चयन गर्न पार्टी नेताहरू फरकफरक चरणमा निर्वाचन क्षेत्रमा पुगेका छन् ।

पहिलो चरणमा महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक निर्वाचन क्षेत्र पुगे । दोस्रो चरणमा दुईजना, त्यसपछि पाँचजना र हाल २० जनाको टोली क्षेत्रमा पुगेर वस्तुगत अवस्था अध्ययन गरिरहेको छ । महामन्त्री शर्मा सहित २८ जनाको टोलीले मतदाताको चाहनाअनुसारको उम्मेदवार उठाउनका लागि क्षेत्रमा अध्ययन गरिरहेको छ ।

उम्मेदवार चयन गर्दा पार्टीमा निरन्तरता, योग्यता र सम्भाव्यता खोजिने भएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार उम्मेदवार हुन इच्छुकका लागि यी तीन मापदण्डमा व्यक्तिको गणितीय र मनोवैज्ञानिक समीक्षा गरिने भएको छ ।

उम्मेदवार हुनका लागि अर्को मापदण्ड ‘इन्टिग्रीटी भिटिङ सिस्टम’ को गहिरो अध्ययन गरिने भएको छ । कुनै आर्थिक अपचलनमा संलग्न रहे/नरहेको, जातीय विभेदको कुनै कर्ममा विगतमा संलग्न रहेर/नरहेको, पारिवारिक सम्बन्धमा परम्परागत मर्यादा कायम रहे/नरहेको, बालश्रम, घरेलु हिंसा लगायतमा संलग्न रहे/नरहेको र अन्य कुनै पनि सामाजिक विसंगतिको दुष्कर्ममा विगतमा संलग्न रहे/नरहेको अध्ययन गरेर मात्रै टिकट वितरण गरिने भएको छ ।

उम्मेदवार हुन इच्छुक व्यक्तिका विषयमा मतदाताहरूको रायसमेत सुनिने भएको छ । उम्मेदवारको आकांक्षी व्यक्तिको सामाजिक प्रभाव, समाजको प्रश्न, असन्तुष्टि र मतदाताबाट कांग्रेसलाई सुझाव समेत मागिने भएको छ । समाजका भिन्नभिन्न क्षेत्रका व्यक्तिहरूसँग अनौपचारिक शैलीमा सुझाव संकलन गरिने भएको छ ।

क्षेत्रमा कांग्रेसको उम्मेदवार तय गर्ने क्रममा गएको टोलीले अनौपचारिक रूपमा पार्टीको अवस्था र नागरिकका गुनासाहरू समेत संकलन गर्नेछ ।

अध्ययन टोलीले गर्ने कार्य

  • कांग्रेसले गरेका कामको सामाजिक प्रभाव केलाउने ।
  • कांग्रेसबारेका कतिपय भ्रम टिपोट गर्ने ।
  • कांग्रेसले परिवर्तन र परिमार्जन गर्नुपर्ने विषयहरू निश्चित गर्ने ।
  • चुनावमा समाजको विश्वास जित्न कांग्रेसले लिनुपर्ने रणनीति अध्ययन गर्ने ।
  • पार्टी पंक्तिको रुझान कोतर्फ बढी देखिन्छ ? त्यो हेर्ने ।
  • कसलाई उम्मेदवार बनाउँदा उपयुक्त हुन्छ ? विश्लेषण गर्ने ।

मतदातासँग अनौपचारिक छलफल गर्ने टोलीले पार्टी सदस्य र शुभेच्छुकहरूको धारणासमेत माग्नेछ । साथै, पार्टीको विभिन्न तहको नेतृत्व एवं सदस्य, नेतृत्वका प्रतिस्पर्धी, पूर्व नेतृत्व, भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्व एवं सदस्यसँग अनौपचारिक संवाद हुनेछ ।

लुम्बिनीका एक प्रदेश सदस्यका अनुसार यस क्षेत्रमा उम्मेदवार हुन कांग्रेसबाट सातजना आकांक्षी छन् । क्षेत्र भित्रका ४, रुपन्देहीको अर्को क्षेत्रमा २ र बाहिरी जिल्लाबाट एकजनाले आकांक्षा राखेका छन् । मतदाताकहाँ जाँदा अध्ययन टोलीले आकांक्षी सबैका बारेमा अनौपचारिक रूपमा सुझाव र राय संकलन गर्ने भएको छ ।

शीर्ष तहका एक नेताका अनुसार आइडिया फोरअन्तर्गत प्राप्त सुझावका आधारमा पार्टीले उम्मेदवार चयन गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार