काठमाडौँ — आधिकारिक कागजात नभएको अभियोगमा अमेरिकाबाट निष्कासनमा परेका ३७ नेपाली बोकेर नेपाल आउँदै गरेको ओम्नी एयर इन्टरनेसनलको उडानमा प्राविधिक समस्या आइपरेका कारण निर्धारित समयमा नेपाल आउन ढिलाइ भएको छ।
चार्टर कम्पनीले उक्त विमान बुधबार दिउँसो २ बजे काठमाडौंमा अवतरण हुने भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तालिका बुझाएको थियो। तर, प्राविधिक कारण देखाउँदै उक्त विमान बिहीबार साँझ ७ बजे काठमाडौंमा अवतरण हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए। ती अधिकारीका अनुसार, काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त चार्टर विमानमा मेकानिकल समस्या देखिएकाले निर्धारित तालिका अनुसार नेपालमा अवतरण हुन ढिलाइ भएको जनाएको छ।
‘जहाज अझै पाकिस्तानमा अवतरण भइसकेको छैन,’ ती अधिकारीले भने, ‘अमेरिकाबाट उडेपछि पाकिस्तान, नेपाल, बंगलादेशलगायतका ४/५ वटा देशका नागरिकलाई सम्बन्धित मुलुकको अध्यागमनलाई हस्तान्तरण गराउँदै आउने छ। आज बेलुकी ७ बजे अवतरण भएपछि त्यो विमान ढाका हुँदै अमेरिका फर्किने छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेयता आधिकारिक कागजात नभएका र ‘आपराधिक’ गतिविधिमा संलग्न रहेको आरोप लागेकासहितका आप्रवासीलाई देश निष्कासन गर्ने योजना अघि सारेका थिए। यो निर्णयपछि २ सय १५ नेपाली ‘डिपोर्ट’ भइसकेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अभिलेख अनुसार हालसम्म १ सय ९७ पुरुष र १८ महिलालाई अमेरिकाबाट नेपाल पठाइसकेको छ।
अमेरिकाबाट नेपाल पठाइनेमा दाङ, पश्चिम रुकुम, पूर्वी रुकुम, सल्यान, म्याग्दी, पर्वत, बाँके, रोल्पा, बाग्लुङ, सिन्धुपाल्चोक, काठमाडौं, जाजोरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका छन्। सबैभन्दा बढी दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका छन्।
प्रतिक्रिया दिनुहोस्