बर्दिया — भारतमा २२ दिनदेखि बेपत्ता गुलरियाका एक बालकको अवस्था अझै अज्ञात छ । गुलरिया नगरपालिका–१० कालाबन्जार १५ वर्षीय सनोज यादव बहराइच बरेलीस्थित मनौना धामबाट बेपत्ता भएका हुन् । उनको खोजीका लागि परिवारले आग्रह गरेका छन् ।
गत साउन २९ गते उनी आमा सरिता यादवलगायत गाउँका व्यक्तिहरुसँग मनौना धाम दर्शनका लागि गएका थिए । साउन ३० गते धामदर्शनका लागि लाइन बसेका बेला उनी हराएको आमा सरिताले बताइन् । बेपत्ता बालकका बुवा वैदेशिक रोजगारमा रहेको परिवारिक स्रोतले जनाएको छ ।
गत आइतबार गुलरिया नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मी नारायण लोध, सञ्चारकर्मी कृष्णप्रसाद भुसालसहित ६ जनाको टोली बालक खोज्न मनौना धाम गएको थियो ।‘हामीले मनौना धाम वरपर बुझ्यौं । तर बालक फेला नपरेको स्थानीय प्रशासनले जवाफ दिएको छ,’ सञ्चारकर्मी भुसालले भने, ‘बालक अन्य कुनै गाडीमा चढेर अन्य ठाउँमा गएको हुन सक्ने स्थानीय प्रशासनले आशंका गरेको छ ।’
बालक बेपत्ता भएको जानकारी पाएपछि काउन्टर पार्टसँग खोजतलासका लागि निरन्तर समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्