बारा — बारा/रौतहटका किसान आन्दोलनका पुराना कम्युनिस्ट नेता ९५ वर्षीय नन्दन अर्यालको आइतबार राति निधन भएको छ । सोमबार पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।
बाराको कलैया उपमहानगरपालिका-१४ बघवनका स्थायी बासिन्दा नेता अर्याल भक्तपुरको लोकन्थलीमा परिवारसँगै बस्दै आएका थिए ।
मुटु र श्वासप्रश्वास रोगले थलिएपछि उनी छोरासित बस्दै आएका थिए । उनका १ छोरा, २ छोरी र श्रीमती छन् । उनको राजनीतिको आधार क्षेत्र किसान आन्दोलनका अर्का नेता हरिहर यादवको गृहगाउँ कचोर्वामा थियो ।
मोहन शमशेरपछि राजा त्रिभुवनको कृपामा प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालाले २००८ सालमा केआई सिंहले गरेको सिंहदरबार विद्रोहको बहानामा कम्युनिस्ट पार्टीमाथि अकारण प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । त्यसपछि किसानलाई संगठित गरेर अर्यालसहितका कम्युनिस्ट नेताले २००९ सालदेखि २०१३ सालसम्म किसान आन्दोलन चलाएका थिए ।
पञ्चायत कालमै उनी ५ पटक जेल परे भने केही समय प्रवाससमेत बसे । त्यो बेला किसानका प्रमुख केन्द्रीय नेता तुलसीलाल अमात्य थिए । पञ्चायत कालमा किसान र कृषि मजदुरमाथि राज्य र सामन्तबाट असुली हुने गरेको चर्को ब्याज असुली तथा विभिन्न थिचोमिचोविरुद्ध अर्यालले अमात्यको नेतृत्वमा किसान आन्दोलनमा होमिएका थिए ।
सुरुदेखि नै उनी वामपन्थी विचारधाराबाट प्रभावित थिए । २००९ सालदेखि २०१३ सालसम्म तराईका थुप्रै ठाउँमा किसान आन्दोलन भएको थियो, जुनबेला राजतन्त्रात्मक व्यवस्था थियो । तराईमा जमिन्दारको बोलबाला थियो । कृषि मजदुर, गरिब, किसानहरू साहुको चर्को ब्याजसहित थिचोमिचोमा थिए । चर्को ब्याज र ऋणले अत्तालिएका किसानको मोहियानी हक पनि थिएन ।
किसान आन्दोलनको नारा थियो- तमसुक फट्टा, मोछ उखाडो, रे नही जी कहो, भकारी फोडो, जसको जोत उसको पोत, मोहियानी हक, हदबन्दी कायम । यिनै माग राखेर यस क्षेत्रका हजारौ किसान आन्दोलित थिए । अर्यालसहित बारा/रौतहटका नेता, हरिहर यादव, हरिदयाल महतो, खजान्ती साह, देवनारायण साहलगायतका नेता तुलसीलाल अमात्यको प्रेरणाले बाराका मधु सिंहको नेतृत्वमा आन्दोलित भएका थिए । आन्दोलनको केन्द्र बाराको गडहल, कचोर्वालगायतको ठाउँ थियो ।
भाषा आयोगका अध्यक्ष कचोर्वा (सिम्रौनगढ नगरपालिका ८) निवासी ६० वर्षीय गोपाल ठाकुरका अनुसार किसान आन्दोलनअघि समाजमा शोषण, जातीय र वर्गीय दबाब थियो । ‘सामन्तीहरूले उनीहरूमाथि अन्याय, अत्याचार र निर्मम दमन शोषण गर्थे,’ उनले भने, ‘त्यसैको खिलाफमा ती वर्गको राहत र मुक्ति दिलाउन किसान संघ अगाडि आएको थियो ।’
ठाकुरले भने, ‘आन्दोलनको उद्देश्य आर्थिक र सामाजिक परिवर्तन थियो ।’ मोहियानी हक, जमिन्दारी प्रथाको अन्त्यलगायत जमिन्दारले गर्ने विभिन्न तरिकाका शोषणविरुद्ध उनीहरू आन्दोलित भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्