स्याउ कम फल्दा जुम्लाका किसान चिन्तित 

जुम्ला — जुम्लाको पातारासी–६ उर्थुका हिक्मत विष्टले गत वर्ष १५ लाख रुपैयाँ बराबरको स्याउ बेचे । बगैँचामा २ हजार बिरुवा रोपेका उनले हरेक वर्ष १० देखि १५ लाख रुपैयाँसम्मको स्याउ बेच्दै आएका छन् । तर यो वर्ष ५० क्विन्टल भन्दा बढी स्याउ नफलेपछि उनी निकै चिन्तित छन् ।

उर्थु गाउँमा सबैभन्दा बढी स्याउ फलाउने विष्टले यो पटक उत्पादन कम भएको बताए । उनले भने, ‘यो पटक स्याउ फलेन । कमाइ पनि राम्रो भएन । तर फलेको स्याउ निकै गुणस्तरको फल्यो ।’

Seti Hospital

सोही गाउँका प्रदीप विष्ट स्याउ किसान सँगै व्यापारी पनि हुन् । उनी छिमेकीको स्याउ हरेक वर्ष धनगढीमा लैजान्छन् । गत वर्ष उनले १० गाडी स्याउ धनगढी पुर्‍याएका थिए । तर यो वर्ष ४ गाडी स्याउ पुर्‍याउन मुस्किल छ ।

प्रतिकेजी ७० रुपैयाँमा स्याउ खरिद गरेका प्रदीपको आफ्नै बगैँचाको उत्पादन पनि निकै कम भयो । गत वर्ष एक गाडी स्याउ आफ्नै बगैँचामा फलेको थियो । यो वर्ष तीन क्विन्टल स्याउ मात्रै फल्यो । उनले भने, ‘बजारमा स्याउको माग अधिक छ । तर स्याउ कम फलेकोले पुर्‍याउन मुस्किल छ ।’

स्याउको फूल लाग्ने समयमा अत्यधिक पानी परेको, कालो तुसारो लागेको र रोग किराको संक्रमणका कारण बगैंचानै रित्तो देखिएको उनले बताए। उनका अनुसार १ सय ५० घरधुरी रहेको उर्थुमा स्याउ बेचेर निकै कम कमाउनेले पनि १ लाख रुपैयाँ पाउने गरेका थिए । अधिकतम १५ लाख रुपैयाँसम्म कमाइ हुने गरेको थियो । तर यो वर्ष बढी पाउनेले ५ लाख रुपैयाँ पुर्‍याउन नसकिने अवस्था रहेको उनले सुनाए ।

गाउँमा कम बगैँचा हुने किसानका १ सय बिरुवा छन् । अधिकतम २ हजार बिरुवासम्म लगाएका छन् । स्याउ नफल्दा पातारासी–६ का अर्का किसान प्रेमबहादुर विष्ट चिन्तित छन् । यो वर्ष उनको बारीमा ६ क्विन्टल स्याउ मात्र फल्यो । ‘यो पटक कोपिलामै स्याउ झर्‍यो । हिउँदमा हिउँ परेन । बर्षायाममा धेरै पानी परेर फल झर्‍यो,’ उनले भने ।

उर्थु स्याउ गाउँको नामले परिचित छ । यो गाउँको खाली जमिन पूरै स्याउले ढाकिएको छ । यो समयमा उर्थु बजारमा मालवाहक गाडीले भरिन्थे । तर यो पटक स्याउ खरिद गर्न आएका व्यापारी समेत रित्तो हात फर्किनु परेको छ । प्रदीपले भने, ‘स्याउले यहाँको जीविका सहज बनाइरहेको थियो । तर यसपालि कम फल्दा यार्सा टिप्न पाटन जानुपर्नेदेखि काला पहाडको यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।’

कृषि विकास कार्यालयका अनुसार जुम्लामा ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गत वर्ष भन्दा उत्पादन घटेकाले किसानको आम्दानी पनि घट्ने कार्यालयको अनुमान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार