बर्दिया — कर्णाली नदीले गेरुवा गाउँपालिका–२ बनघुस्रास्थित तटबन्ध बगाएपछि आधा दर्जन बढी गाउँ उच्च जोखिमा परेका छन् । कर्णालीको कटानले करिब ३ सय मिटर तटबन्ध बगाएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरले जनाएको छ ।
करिब ५ वर्षअघि झण्डै ३ करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर बगाएको हो । नदी कटानले लम्बाई करिब ३ सय मिटर र चौडाई ३ मिटर कटान गरेको आयोजना प्रमुख सुदिन मुक्तानले बताए ।
तटबन्धको सडक ५ मिटरमध्ये अब २ मिटर कटान हुनासाथ कर्णाली बस्तीमा पस्ने जोखिम बढेको छ । ‘कटान रोकिएको छैन,’ उनले भने, ‘आपतकालीन तटबन्धका लागि वर्षातमा बोल्डर(ठूला ढुंगा) पाइँदैनन ।’ गेरुवा गाउँपालिका–२ बनघुस्राका स्थानीय तटबन्ध बगाएपछि बाढी पस्ने भन्दै त्रसित्र बनेका छन् ।
सोमबारदेखि लगातार पानी परिरहेकोले कर्णालीमा जलस्तर बढदै गएको छ । बिहान ७ दशमलव ८ मिटर पानीको बहाव रहेको छ । कर्णालीमा १० मिटर पुग्नासाथ बाढी आउने गर्छ । गेरुवा–२ का वडाध्यक्ष कृष्ण थारुले नदी कटान तीव्र भएको बताए ।
नदीमा बनाइएको तटबन्ध सँगै स्पर बगाएकाले कर्णालीले धार परिवर्तन गरी बनघुस्रा, बनकटटी, सनकटटी, टिकुलीगढ, लोहार लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ । कमसल तटबन्ध भएका कारण नदीले सहजै कटान गरेको स्थानीयको आरोप छ ।
अस्थायी रुपमा नदी कटान रोक्न सोमबार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिसहित स्थानीयले बोरामा बालुवा, स्याउला भरेर तटबन्ध गरिने गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताए । यसका लागि पालिकाले जेसिभी, ट्याक्टरलगायतका सवारी साधन उपलब्ध गराउने भएको उनले जनाए ।
प्रतिक्रिया दिनुहोस्