काठमाडौं– ३१ असार ०८१ का दिन राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नासाथ शपथ ग्रहणअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनको निवास पुगेका थिए।
पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा ओलीले एमालेको नेतृत्वमा सरकार बन्ने भएको जानकारी गराए। त्यसलगत्तै उनले राजनीतिमा सक्रिय भएर पार्टीको मोर्चा सम्हाल्नका लागि भण्डारीसँग परामर्श पनि गरेका थिए।
त्यसको एक बर्ष र केही दिनपछि ६ साउन ०८२ को मध्यरातमा सकिएको एमाले केन्द्रीय समितिको बैठकले भण्डारीको सदस्यता रोक्ने निर्णय उनै ओलीले गराएका थिए।
यसपछि सतहमा स्पष्ट रुपमा देखिएको छ ओली–भण्डारी दुई खेमा। त्यसअघि सदस्यताको विवाद समाधानको विषयका लागि ओली–भण्डारी भेट बालुवाटारमा एक पटक र च्यासलमा एक पटक भएको थियो।
अहिले ओली भण्डारीको खेदो खन्न पछि परेका छैनन्। प्रधानमन्त्रीका रुपमा चीन भ्रमणमा रहेका ओलीले त्यसअघि काठमाडौंमा विभिन्न चरणका कार्यक्रम मध्य एकमा भनेका थिए,‘उहाँलाई मैले जति कसैले पनि सम्मान दिएन। तर, उहाँ सक्रिय हुँदा के हुन्छ? भिम रावलको हालत हुन्छ। अनि कारबाही गर्नुपर्ने पनि हुन सक्छ।’
ओलीको भनाईको स्पष्ट संकेत छ कि भण्डारीको सदस्यता कानुनत सक्रिय हुन सक्छ र महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेको खण्डमा पराजित हुनेछिन्। त्यसपछि पार्टीबाट लखेट्न सकिन्छ भन्ने नै ओलीको भनाई तात्पर्य हो।
त्यसबेलासम्म भण्डारी च्याप्टर ओलीका निम्ति ‘निल्नु न ओकल्नु’ भएको छ। यसका दुई मजबुत दलील पनि छन्।
एउटा अन्तरवार्तामा ओली आफैंले भण्डारी सक्रिय राजनीतिमा आउन सक्ने बताएका थिए। जुन भिडिओ यत्र तत्र सर्वत्र भैसकेको छ। अर्को, भण्डारीको राजनीतिक सक्रियता र कार्यकर्ताको ठूलो पंक्तिको जमात देखिनु पनि हो।
भण्डारीको सक्रियताले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत ओलीका वरिपरी रहेका नेतालाईचाहिँ सही नसक्नु भएको छ। उनीहरूले पनि भण्डारीलाई रोक्न नसक्ने आधार छन्।
एउटा अन्तरवार्तामा महासचिव पोखरेलले भनेका थिए,‘उहाँको सदस्यता नविकरण भैसकेको छ। एक बर्षअघि नै भएको थियो।’
भण्डारी कानुनी आधारका निम्ति सक्रिय हुने हो भने एमाले केन्द्रीय समितिको निर्णय अवैध ठहर हुने पर्याप्त आधार तयार छन्।
यस्तो किन भयो?
उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली खुलेर नै भण्डारीको पक्षमा उत्रिएका छन्। ‘संविधानले रोक्न नसक्ने चिजलाई कसैले रोक्छु भनेर हुन्न, सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति आउन सक्नुहुन्छ’, पाण्डेलगायतले राखेको तर्क थियो।
केन्द्रीय समितिमा मौन रहेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने आजभोली खुल्न थालेका छन्। भण्डारीको पक्षमा उभिएका उनले ओलीमाथि कटाक्ष गरी भनेका छन्,‘म जहाँ उभियो त्यहि संस्थापन हो।’
हुन पनि उनी उभिएको पक्षले नै एमाले महाधिवेशनमा बाजी मारेका बिगतका सबै उदाहरण छन्।
एमालेमा अध्यक्ष ओलीको चाकरी गरेर राजनीतिक भन्दा पनि अराजनीतिक गतिविधि र विषयान्तर हुन थालेको बुझाई भण्डारी राष्ट्रपति रहँदाका सल्लाहकार सुबोधराज प्याकुरेलको रहेको छ।
ओली सरकारले दिएको दक्षिण कोरियाको राजदूत पद त्याग गरेका प्याकुरेलले भनेका छन्,‘कहिले म एक कार्यकालभन्दा बढी बस्दिन भन्या छ। कहिले मभन्दा बाहेक कोही छैन भन्या छ। कसले बिगारेको यो? यो तिनीहरुले बिगारिरहेका छन् जो २ बजे राती अध्यक्षसँग भनेर फेसबुकमा तस्बिर राख्छन्। यो तहको चाकरी चल्छ।’
ओली आफैं वैचारिकभन्दा पनि घेराको सल्लाहका कारण चिप्लिन थालेको बुझाई एमालेमा रहेको छ। अझ, एमालेका विभिन्न कमिटीमा पराजित भएकाहरुको भिड भण्डारीको पक्षमा बलियो देखिएपछि हच्किएका ओलीले भनेका थिए,‘हारेका मानिस लिएर पूर्वराष्ट्रपति हिँड्नुभएको छ, यो के जात्रा देखाएको होला।’
जे भए पनि भण्डारीको राजनीतिक गतिविधिले एमालेमा एउटा नयाँ तरङ्ग देखा परेको छ। त्यसको बाछिटाका रुपमा ओलीलाई खेदो खने पनि नयाँ पुस्ताका फरक राजनीति गरिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भेट, रास्वपा प्रवक्ता मनिष झाको भेट तथा अन्य राजनीतिक दलका बरिष्ठ नेतासँगका भेटवार्ता देखिएका छन्।
यसले प्रश्न जन्माउँछ– अब एमालेको आन्तरिक राजनीतिक दिशा कता मोडिएला? यहि भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा के होला?
र, एमालेको भण्डारी पक्षका नेता भन्छन्,‘विधान महाधिवेशनमा सबै प्रश्नको पर्दापण हुनेछन्।’





प्रतिक्रिया दिनुहोस्