सल्यान — सल्यानमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । शारदा नगरपालिका-१२ तिमिलेबाट श्रीनगर आउँदै गरेको लु १ ज २३६८ नम्बरको जिप रेसमज्युलानजिकै ग्रामीण सडकमा दुर्घटना हुँदा १९ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घाइते सबैको जिल्लाको शारदा नगरपालिका-१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ ।
जिप अनियन्त्रित भएर सडकदेखि ५ मिटर तल खसेको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए । जिपमा २० जना सवार थिए । घटनाको अनुसन्धान भइरहेको र जिप चालक शारदा नगरपालिका ६ बस्ने वर्ष २३ का सुरेश बुढाथोकी अहिले प्रहरी नियन्त्रणमा रहेको प्रनि बस्नेतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्