धनगढी : कक्षा १२, एसएलसी तथा एसईईको प्रमाणपत्र हराएमा सजिलै प्रतिलिपि बनाउन सकिने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड धनगढी कार्यालयबाट सेवाग्राहीले हराएको प्रमाणपत्रको प्रतिलिपि सजिलै पाउने भएका हुन्। बिगतमा हराएको प्रमाणपत्रको प्रतिलिपि पाउन प्रहरी प्रतिवेदन आवश्यक हुन्थ्यो। तर अहिले प्रमाणपत्रको फोटोकपी या रजिष्ट्रेसन नम्बरकै आधारमा प्रतिलिपि दिने गरिएको राष्ट्रिय परीक्षा बोर्ड धनगढीका कार्यालय प्रमुख महेन्द्रराज पाण्डेयले बताए।
‘कक्षा १० र १२ उत्तीर्ण गरेको प्रमाणपत्र हराए सजिलै प्रतिलिपि लिन सक्छन्। कक्षा १२ को प्रतिलिपि धनगढीबाटै दिन्छौँ भने कक्षा १० को प्रतिलिपि पाउन सानोठिमी जानुपर्ने हुन्छ,’ पाण्डेयले भने। कक्षा १० र १२ उत्तीर्ण गरेको प्रमाणपत्र हराएमा या कुनै कारण नष्ट भएमा सजिलैसँग प्रतिलिपि पाइने भएको हो। बिगतमा हराएको सूचना पत्रपत्रिकामा प्रकाशित गरेर प्रहरी प्रतिवेदन पेस गर्नुपर्ने हुन्थ्यो।
तर अहिले भने सूचना प्रकाशित गर्न पर्दैन। यस्तै प्रहरीको प्रतिवेदन पनि आवश्यक नहुने पाण्डेयले बताए। ‘कक्षा १२ को हराएको प्रमाणपत्र फेरि बनाउन रजिष्ट्रेसन नम्बर भए हुन्छ। रजिष्ट्रेसन नम्बर र प्रवेश पत्रको फोटोकपी भए पनि नयाँ प्रतिलिपि दिन मिल्छ,’ पाण्डेयले भने।
राष्ट्रिय परीक्षा बोर्ड प्रादेशिक कार्यालय धनगढीले २०६८ साल यताका विद्यार्थीको प्रमाणपत्रको प्रतिलिपि निवेदन दिएको बढीमा तेस्रो दिनभित्र उपलब्ध गराउँदै आएको छ। रजिष्ट्रेसन कार्ड समेत हराएको तथा नम्बरसमेत थाहा नभएको अवस्थामा भने अध्ययन गरेको विद्यालयबाट रजिष्ट्रेसन नम्बर र परीक्षा दिएको वर्ष पत्ता लगाएर निवेदन दिनुपर्छ। यसरी निवेदन दिएको बढीमा तीन दिनभित्र सेवाग्राहीले हराएको प्रमाणपत्रको प्रतिलिपि पाउने पाण्डेयले बताए।
यदि कसैको कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्र हराएमा/नष्ट भएमा भने सेवाग्राहीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा निवेदन दिनुपर्छ। सम्बन्धित वडा कार्यालय र जिल्ला शिक्षा समन्वय इकाईको पत्रसहित निवेदन दिए हराएको प्रमाणपत्र प्रतिलिपि प्राप्त गर्न सकिने बताइएको छ। राष्ट्रिय परीक्षा बोर्डले नियमिततर्फ कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्रका लागि एक हजार ५० रुपैयाँ शुल्क लिने गरेको छ। २०८२ मा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीको प्रमाणपत्रसमेत भदौ ५ गतेबाट दिन थालिएको छ।
प्रतिक्रिया दिनुहोस्