काठमाडौँ : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी अञ्चल इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारेको बहस भावनाले नहुने बताएका छन् ।
पार्टी जिल्ला कमिटीको शनिबारको बैठकमा भण्डारीको सदस्यता रोक्ने निर्णयले तलसम्म असर परेको कुरा उठेपछि राईले पार्टीले निर्णय गरिसकेको विषयमा कोही दायाँबायाँ गर्न नमिल्ने बताए ।
भोजपुरमा जन्मिएकी भण्डारीको राजनीतिक सुरुवात यहीँबाट भएको थियो । भोजपुर शेरधनको पनि गृह जिल्ला हो ।
राईले जिल्लाकै हिसाबले पनि आफ्नो दिदी भाइको सम्बन्ध रहेको ५६ सालदेखि आफ्नो राजनीतिक जीवनमा सहयोग पनि गरेको सम्झिँदै सधैँ आफूले सम्मान गर्ने तर, राजनीतिक कुरा र पार्टीको निर्णयबाहिर जान नसक्ने प्रष्ट पारेका छन् ।
कोशीको संस्थापक मुख्यमन्त्रीसमेत रहेका शेरधनलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा अर्कैले दौरा-सुरूवाल सिलाइसकेका बेला विद्याले त्यसबेला अडान लिएपछि सञ्चार मन्त्रीको शपथ गराइएको एमालेका जानकार नेताहरूले चर्चा गर्दै आएका छन् ।
एमालेमा फर्किने कुरा आएपछि भण्डारीसँग आफू ३र४ घण्टा छलफल गरेर नेतासँग कुरा गराउन सहजीकरण गरे पनि पद्धतिभित्र नआएको उनको भनाइ थियो ।
भण्डारीले आफ्ना विचार/आकांक्षा र सोचलाई विधि पद्धति विपरीत सार्वजनिक ठाउँमा बोलेको उनको टिप्पणी थियो ।
एमालेको अध्यक्षकै निम्ति आउँदै छु भनेर मिडियाबाट बोलेको भन्दै राईले भने, ‘उहाँ पूर्वराष्ट्रपतिको हैसियतमा रहनुभएको थियो । जहाँसम्म उहाँको सदस्यता नवीकरणको कुरा उहाँ पार्टीको नेता कार्यकर्ता पनि हुनु भएको हुनाले र सधैँ एमालेको हित र उन्नतिमा साथ दिने गार्जेन पनि भएकाले त्यसबाटोबाट आफ्ना विचार/आकांक्षा र सोचलाई त्यताबाट ल्याउनुपर्थ्यो । तर, त्योरूपमा विषय आएन । सार्वजनिक कार्यक्रममा सक्रिय राजनीतिमा आउँदै छु भन्नुभयो । र, म पार्टी अध्यक्षकै निम्ति आउँदै छु भनेर भित्रबाट हैन बाहिर मिडियाबाट आउनुभयो । जुन कुरा पार्टीले अपेक्षा गरेको थिएन । त्यो पद्धतिभित्र पनि पर्दैनथ्यो ।’
पार्टीको उपाध्यक्ष र सदस्यता त्यागेर राष्ट्रपति बनेको भन्दै उनले भण्डारीले दुवै कार्यकालमा असाध्यै राम्रो छविका साथ राम्रो उचाइबाट राष्ट्रको अभिभावकत्व निर्वाह गरेको बताउँदै सारा नेपालीले कदर गरेका छन् प्रशंसा गरेको र पार्टीले पनि कदर गरेको शेरधनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्