प्रतिपक्षीले जस्तै जनताको स्वर बुलन्द पार्ने सांसद

विराटनगर — कोशी प्रदेशसभामा बैठक बस्ने बित्तिकै एउटा स्वर बारम्बार गुन्जिन्छ—प्रखर, आत्मविश्वासी र तथ्यसहितको स्वर। त्यो स्वर हो- एमालेकी समानुपातिक सांसद मीना श्रेष्ठको। उनी सत्तापक्षकी सांसद हुन्, तर प्रतिपक्षी जस्तै गरी जनताको पक्षमा स्वर गुन्जिन्छ।

Seti Hospital

संसद्मा कतिपय सदस्य मौन बस्छन्, कतिपय दलगत सीमाभित्रै सीमित रहन्छन्। तर श्रेष्ठ भने निरन्तर जनताको सरोकार बोकेर बोलिरहन्छिन्। श्रेष्ठले निरन्तर महिला, पछाडि परेका समुदाय र युवाका मुद्दा संसद्मा प्रस्तुत गर्दै आएकी छन्। सदनमा धेरै पटक बोल्ने सांसदहरूको छोटो सूचीमा उनको नाम पनि अटाएको छ। उनले अहिलेसम्म ३० पटकभन्दा बढी सदनका विशेष र शून्य समयमा सम्बोधन गरिसकेकी छन्।

संघीय सरकारले ल्याउन लागेको भनिएको बहुविवाहलाई वैधता दिने कानुनको विषयमा उनी सबैभन्दा कडा रूपमा प्रस्तुत भएकी थिइन्। उनले यसलाई सामाजिक न्याय र महिला अधिकारको अपमान भन्दै सदनमै खुला चुनौती दिएकी थिइन्।

त्यस्तै, मैथिली र लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयकबारे पनि उनले स्पष्ट धारणा राखिन्। भाषिक विविधता सम्मान गर्नुपर्ने तर व्यावहारिक कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा उनले गम्भीर प्रश्न उठाएकी थिइन्।

मीना श्रेष्ठले विशेष गरी पर्यटनका चुनौती र सम्भावना निरन्तर उठाउँदै आएकी छन्। कोशी प्रदेशमा लुकेका पर्यटकीय स्थललाई कसरी विश्वमा चिनाउने? स्थानीय स्तरमा रोजगारी सिर्जना कसरी गर्ने? पर्यटन पूर्वाधार कसरी विस्तार गर्ने? जस्ता आम सरोकारका प्रश्न उनले पटक–पटक प्रदेशसभामा राख्छिन्।

उनी ठूला–ठूला विषयमा भन्दा सामान्य मानिसका सामान्य लाग्ने गम्भीर मुद्दाहरू सधैँ बुलन्द पार्छिन्। केही समयअघि उनले इटहरी क्षेत्रमा फस्टाइरहेको स्ट्रिट फुड कल्चरको विषय संसद्मा उठाउँदा युवाको मुद्दा उठाएको भन्दै धेरै युवा समूहले सराहना गरेका थिए। यो नयाँ संस्कृतिले युवालाई उद्यमशील बनाएको भए पनि अ स्वच्छता र व्यवस्थापनको कमी रहेको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

‘विराटनगर, इटहरी, धरान, बिर्तामोडजस्ता ठूला सहरहरूमा स्ट्रिट फुड कल्चर मौलाएको र यसले रोजगारी समेत सिर्जना गरेको छ,’ उनले हालैको एक प्रदेशसभा बैठकको शून्य समयमा भनिन्, ‘प्रदेशसभाले नीति नै ल्याएर रात्रि बजार क्षेत्र निर्धारण गरी यस किसिमका व्यवसायलाई प्रोत्साहन गर्न जरुरी छ।’

श्रेष्ठ राजनीतिकर्मी मात्र होइन, कवि पनि हुन्। ‘बिस्कुन यो मनको’ र ‘फर्गेट यस्टर्डे’ नामका दुई कविता कृति समेत सार्वजनिक गरिसकेकी उनका कवितामा युवाको ऊर्जासहित महिला चेतना, सामाजिक असमानता र न्यायका स्वर गुन्जिन्छन्। यही साहित्यिक संवेदनशीलता उनको राजनीतिक भाषणमा पनि झल्किन्छ।

श्रेष्ठ एमालेकी यूथ फोर्सकी सक्रिय कार्यकर्ता थिइन्, कुनै बेला। त्यही पृष्ठभूमिबाट राजनीतिक यात्रामा अघि बढेकी थिइन्। त्यसपछि निरन्तर संगठनमा सक्रिय रहँदै उनले पार्टी नेतृत्वको विश्वास जितिन्। आज उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘किचेन क्याबिनेट’ की कार्यकर्ताको रूपमा हैसियत बनाएकी छन्। त्यही विश्वास र भूमिकाकै कारण उनलाई एमालेले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभामा पठाएको उनको दाबी छ।

कोशी प्रदेशसभामा महिलाको उपस्थिति उत्साहजनक छ। प्रत्यक्ष २ सहित ३३ महिला सांसद छन्। इलाम १ (१) बाट नेकपा एकीकृत समाजवादीकी खिनु लङ्वा र झापा १ (२) बाट राप्रपाकी सबिना बजगाईँ बाहेक सबै समानुपातिक निर्वाचन पद्धतिबाट आएका हुन्।

धेरैजसो महिला सांसदहरूले बैठकमा सक्रिय सहभागिता जनाउँदैनन्, तर श्रेष्ठ भने बारम्बार बोल्ने, प्रश्न गर्ने र सरकारलाई चुनौती दिने साहस राख्छिन्। उनले देखाएको सक्रियता र आत्मविश्वासले प्रदेशसभामा महिला आवाजलाई नयाँ उचाइमा पुर्‍याएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार