धनगढी : स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कैलालीस्थित गेटा मेडिकल कलेजमा आगामी असारभित्रै एमबीबीएस पढाइ सुरु हुने स्पष्ट पारेका छन्।
उनले गेटा मेडिकल कलेजलाई सरकारले पहिलो प्राथमिकतामा राखेको परियोजना भएको बताउँदै एमबीबीएस पढाइ सुरू गर्न तीन सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने र यसलाई अविलम्ब सञ्चालनमा ल्याइने बताए।
तीन वर्षमा एक अर्ब बराबरको उपकरण खरिद
मन्त्री पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले पछिल्ला तीन वर्षमा गेटाका लागि करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण खरिद गरिसकेको छ। अघिल्लो वर्ष पाँच करोड रुपैयाँ बजेट छुट्याइएकोमा यो वर्ष अस्पताल तथा कलेज सञ्चालनका लागि मात्रै १० करोड रुपैयाँ विनियोजन गरिएको छ।
हाल स्वीकृत ५० शय्याको अस्पतालमा थप २०० शय्या विस्तार गर्न सकिने र यही आर्थिक वर्षभित्र ३ सय शय्याको अस्पताल सञ्चालनमा ल्याइने उनको भनाइ छ। साथै, साढे दुई सय दरबन्दी स्वीकृतका लागि फाइल अर्थ मन्त्रालय पठाइएको जानकारी उनले दिए।
स्वास्थ्य बीमा र उपचार सुविधा विस्तार
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सरकारका अनुसार आठवटा जटिल रोगलाई बीमासँग जोडिएको छ। यसमार्फत बिरामीले ३ लाख रुपैयाँसम्मको उपचार निःशुल्क सेवा पाउनेछन्। मुटुको भल्भ प्रत्यारोपणमा ४ लाख ५० हजार, मृगौला प्रत्यारोपणमा ८ लाख ५० हजार, र विपन्नका लागि सामाजिक सेवामार्फत एकपटक सहयोगको व्यवस्था गरिएको छ। सिकलसेल रोगका बिरामीका लागि छुट्टै वार्ड सञ्चालन गरिने योजना पनि मन्त्री पौडेलले सार्वजनि
अङ्गदान संस्कृतिको आवश्यकता
मन्त्री पौडेलले अङ्गदान संस्कृतिको विकास अपरिहार्य भएको बताउँदै भने, ‘ब्रेन डेथ भएपछि दान गरिएको अङ्गले अर्को व्यक्तिलाई जीवन दिन सक्छ। अङ्गदान पुण्यको काम हो, परिवारलाई २ लाख र अस्पताललाई ५० हजार प्रोत्साहनस्वरुप दिने व्यवस्था गरिएको छ।’ उनका अनुसार हाल नेपालमा ९५ प्रतिशत अङ्ग प्रत्यारोपणको अभाव छ र कानुनले आफन्तले मात्र अङ्गदान गर्न पाउने व्यवस्था गरेको छ।
शिक्षा मन्त्रालयसँग सहकार्य
मन्त्री पौडेलले गेटा मेडिकल कलेजमा उपकुलपति, रजिस्ट्रार र डिनको छिटो नियुक्ति गर्न शिक्षा मन्त्रालयलाई अनुरोध गरिसकेको जानकारी दिए। उनले भने, “स्वास्थ्य मन्त्रालयले राम्रो अस्पताल बनाएर शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्ने योजना राखेको छ। गेटामा असारभित्र एमबीबीएस पढाइ सुरु हुन्छ, यो कुरा लेखेर राख्नुस्।”
प्रतिक्रिया दिनुहोस्