महोत्तरी — एक जना मान्छेलाई आरामसँग सुत्नका लागि कति ठाउँ चाहिन्छ ? साइन्स डाइरेक्ट डट कममा प्रकाशित एक अनुसन्धनात्मक लेखअनुसार सामान्यतया एक जना वयस्क मानिसलाई आरामले सुत्नका लागि २०० बाई ९० सेन्टिमिटर(७९ इन्च बाई ३५ इन्च) ठाउँ चाहिन्छ । यसमा कोल्टो फेर्न, उत्तानो र घोप्टो परेर सुत्न सकिन्छ ।
अलि कठिन अवस्थामा १७१ बाई ७६ सेन्टिमिटर(६७ बाई ३० इन्च) ठाउँ भए सुत्न सकिने उक्त अध्ययनले जनाएको छ । तर महोत्तरी कारागारको अवस्था भने फरक रहेको छ । महोत्तरी कारागारका रहेका कैदीबन्दीले १८ इन्चमै सुत्नुपर्ने बाध्यता रहेको छ ।
महोत्तरी कारागारमा अग्लो पर्खालको घेराभित्र तीनतले जीर्ण भवन त छ नै । त्यसमाथि वरिपरि जस्तापाता राखिएको टहरा, मन्दिर र पर्खालमा डोरी बाँधेर टाँगिएको त्रिपालमुनि भरिभराउ हुन्छ जलेश्वर कारागार ।
वि.सं. १९१३ सालमा निर्माण भएको राणाकालीन जलेश्वर कारागार ४/५ कठ्ठा क्षेत्रफलमा रहेको संरचना जीर्ण अवस्थामा छ । १३५ जना कैदीबन्दी अट्ने भए पनि ५ सय ५९ जनालाई अटेसमटेस गरी राखिएको छ । पछिल्लो समय अन्य कारागारमा भद्रगोल मच्चिरहँदा जलेश्वर कारागार शान्त त देखिन्छ, तर कैदीबन्दीको मन शान्त छैन । समयमै दिशापिसाब गर्न पाउँदैनन् । राति सुत्न पाउदैन । रातदिन पंखा चले पनि कोठामा शीतलता महसुस गर्न सक्दैनन् उनीहरू । हुरीबतास नआई जलेश्वर कारागारमा शीतल छाउँदैन । दिशापिसाब गर्न बिहानैदेखि लाइन लाग्नुपर्छ ।
शौच गर्न त लाइन नबसी बिहान पालो नपाउने कैदीले दिनको समय जसोतसो बिताए पनि रात भने सहज छैन । २१ वटा कोठामा आकारअनुसार २० देखि ४० जनासम्म सुत्नु पर्ने बाध्यता छ । मालसामानजस्तै खाँदिएर सुत्नु पर्ने बाध्यता छ । कारागार आन्तरिक प्रशासन(कैदीहरूको समिति)ले सञ्चालन गरेको र सुत्नका लागि सबैलाई ठाउँ दिँदा प्रतिव्यक्ति १८ इन्च मिलाएर दिने गरेको कारागार प्रशासक अशोककुमार क्षेत्रीले बताए ।
सुतेपछि कोल्टो फेर्न पनि नपाउने गरी कोठामा निसास्सिएर कतिपय कैदीबन्दी त नसुती मन्दिर, कारागार परिसरमा उभिएरै रात बिताउँछन् । राति सुत्न नपाएकाहरू मन्दिरअगाडि र त्रिपालमुनि दिउँसो सुत्ने गरेका छन् । काउन्सिल अफ युरोप्स कमिटी फर प्रिभेन्सन अफ टर्चर(सीपीटी) का अनुसार एक जना मात्रै कैदी रहने भने ६५ स्क्वायर फिट चाहिन्छ । त्यस्तै अन्तर्राष्ट्रिय रेडक्रम समितिले कम्तीमा ५८ स्क्वायर फिट ठाउँ चाहिन्छ । यदि समूहमा राखिएको छ भने कम्तीमा एक जना कैदीलाई ४३ स्क्वायर फिट ठाउँ चाहिने सीपीटीको सुझाव छ । यसैमा रेडक्रसले भने ३७ स्क्वायर फिट चाहिने बताएको छ ।
कारागार नियमावली-२०२०(पन्धौँ संशोधन २०७९) को नियम ३८ मा जेलरले कारागारका कैदी वा थुनुवाहरूको स्वास्थ्यका लागि अन्नपानीको राम्रो प्रबन्ध गर्नुपर्ने भनिएको छ । त्यस्तै कारागारभित्र कैदी वा थुनुवा रहेका ठाँउमा पाइखाना पिसाबखानाहरू दिनदिनै चुना, फिनेल, पोटास छरेर सफा गर्नुपर्ने नियमावलीमा उल्ले छ । अब कारागारभित्र सुहाउँदा विभिन्न किसिमका मनोरञ्जन र खेलकुदको समेत व्यवस्था गर्नुपर्नेछ ।
तर जलेश्वर करागारमा १५ शौचालय र ५ स्नान घर मात्र छन् । समयमा दिसापिसा गर्न नपाउने र सुत्न समस्या भएकै कारण अधिकांस कैदीलाई ग्यास्ट्रिकको समस्या छ । दिनहुँ कैदीहरूले औषधि खानु परेको बताउँछन् । समूहमा सुत्ने तर सरसफाइ नहुदा कैदीहरूमा छालाको रोग समान्य बनेको छ । भेटघाट हुँदा बाहिर प्रहरी र भित्र कैदीबन्दीहरूकै नाइके चौकीदारको पहराले करागारको समस्या सार्वजनिक हुँदैन । कारागारको अनुगमन हुन्छ तर झारा टार्नका लागि मात्रै ।
राजनीतिक पहुँच भएका कारागार प्रशासननिकटहरूले समिति बनाएर कैदीबन्दीलाई नै सामान बेचेर आम्दानी गरिरहेको स्रोत बताउँछ । समितिसँग मिल्नेलाई सहज तर नमिल्नेलाई सहज छैन जलेश्वर कारागार । कारागार प्रशासन भने कैदीबन्दीहरूले मुढा बनाएरै घरमा समेत पैसा पठाइरहेको दाबी गर्छ । तर यो सबैको हकमा भने लागू हुँदैन । कारागारमा रहेका कैदीबन्दी भेटेर फर्किनेहरू आफन्तहरू त्यहाँको अवस्था भद्रगोल रहेको बताउँछन् ।
कारागारमा जीर्ण भवन भएकै कारण ३५ जना महिला कैदीलाई जलेश्वर कारगारबाट २०७९ असारमा सिन्धुली सरुवा गरिएको थियो । १३५ कैदीका लागि बनेको जलेश्वर कारागारको क्षमता २ सय जना राख्ने भए पनि ५ सय ५९ जना राखिएको छ । ‘कारागार जीर्ण छ । मर्मत गर्न बजेट नहुँदा स्थानीय तहसँग समन्वय गरी सञ्चालन गरेको छु,’ कारागार प्रशासक क्षेत्री भन्छन्,’कैदी राख्न समस्या छ । तर शान्ति सुरक्षा र अनुशासनमा कुनै समस्या छैन ।’ नयाँ भवन बनाएर कारागार अन्यत्र सार्ने तयारी भए पनि जग्गा पाउन कठिन भएको उनले बताए ।
तराईमा भूमिगत अपराध सञ्चालन गर्ने समूहका नाइके, भूमिगत आपराधिक संगठनका कार्यकर्ताहरू एकै ठाउँमा बस्दा विगतमा समस्या भए पनि अहिले खासै समस्या नभएको जलेश्वर करागारले जनाएको छ । कारागारको त्रैमासिक अनुगमन गर्ने व्यवस्था भए पनि महिनामा २/३ पटक अनुगमन गरी कैदीहरूको अवस्था बुझ्ने गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । ‘साँघुरो ठाउँ, कमजोर संरचना र मापदण्डअनुसार कैदीलाई बस्ने सुविधा उपलब्ध गराउन नसकिए पनि कारागारमा कुनै विवाद र समस्या देखिएको छैन,’ उनी भन्छन्
प्रतिक्रिया दिनुहोस्