बाजुरा : बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । बाढीपहिरोले गाँसबासको समस्यामा परेका यहाँका स्थानीयलाई शुक्रबार हिमाली गाउँपालिकाले खाद्यान्न, भाँडाबर्तन र त्रिपाललगायतको राहत सामग्री वितरण गरेको हो । गत बुधबार राति बिच्छ्या खोलामाथिबाट आएको बाढी सिधै गाउँ पसेपछि घर, जमिन र खाद्यान्नलगायत सबै बगाएपछि स्थानीय पीडित बनेका छन् । यो बेला हिमाली गाउँपालिकाले चामल, नुन, तेल र भाँडा, त्रिपाल वितरण गरेपछि अहिले केही दिनका लागि भए पनि बिहान बेलुकीको छाक टार्न सहज भएको हिमाली–१, बिच्छ्याका सब्बले थापाले बताए ।
बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिमा रहेका छन् । यहाँका ४१ घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने २४ घरपरिवार विस्थापित भएका छन् । वडा नम्बर ५ कवाडीमा मात्र १६ घरपरिवार विस्थापित भएका छन् भने ३२ वटा घरमा पूर्ण रूपमा क्षति पुगेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।
प्रतिक्रिया दिनुहोस्