काठमाडौं– नेकपा एमालेको तलसम्म सर्कुलर गरिएको अन्तरपार्टी निर्देशन (अपानि)मा गम्भिर जालझेल भएको छ।
यो जालझेलविरुद्ध केन्द्रीय समितिको बैठकमा फेरि प्रश्न उठाइने दुई जना उपाध्यक्षहरु सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले बताएका छन्।
यो विषय पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताको समर्थन र रोकका विषयलाई लिएर भएको हो।
साउन ६ गते सकिएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय पाण्डे, ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले लिखितरूपमै फरक मत राखेका थिए।
अपानि पठाउँदा फरक मत उल्लेख नगरिएकाले अब यो विषयले केन्द्रीय समितिमा फेरि बबन्डर हुने लगभग निश्चित जस्तो छ।
उपाध्यक्ष पाण्डेले नोट अफ् डिसेन्टमा लेखिएको कुरा सार्वजनिक भइसकेको बताउँदै त्यसका अन्तर्वस्तुबारे छलफल हुनुपर्ने पनि बताएका छन्। उनले यो विषय पार्टीको तल्लो तहसम्म जालझेल गरी नपुराएकोमा प्रश्न उठ्ने पनि जनाएका छन्।
उनले अपानि जारी गर्दा फरक मत लेख्नेहरूलाई सोध्नुपर्ने बताए।
उनले आफूहरूको अडान (विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउन नहुने) परिवर्तन नहुने बताउँदै यसलाई आगामी केन्द्रीय कमिटीको बैठकमा अझ व्यवस्थित ढंगले उठाउने बताए।
उपाध्यक्ष युवराज ज्ञवालीले पनि फरक मत अन्तरपार्टी निर्देशनमा नपठाइएको भन्दै असहमति प्रकट गरेका विवरण प्राप्त भएका छन्।
पार्टी कमिटी बैठकमा लिखित रूपमा राखेको असहमति छलफलका लागि पठाउने परम्परा रहेको उनले स्मरण गराउँदै नपठाएको विषय गम्भिर भएको पनि उल्लेख गरेका छन्।
यस्तो गर्न महासचिव शंकर पोखरेलको मनोपोली हावी भएको एमाले उच्च स्रोतले जनाएको छ। पोखरेल अहिले अध्यक्ष केपी शर्मा ओलीपछि पार्टीमा आफूलाई सर्वशक्तिमान मात्र होइन भावी नेताका रुपमा पनि स्थापित गराउन खोजिरहेका छन्।
भण्डारीलाई रोक्नका लागि पनि उनी नै सक्रिय भएका थिए।
प्रतिक्रिया दिनुहोस्