कपिलवस्तु — विशेषगरी पुत्रको दीर्घायुको कामना गर्दै मधेशी समुदायका महिलाले बिहीबार धुमधामसँग तीन छठ्ठी पर्व मनाएका छन् । सन्तान र श्रीमान्को लामो आयुको कामना गर्दै यो पर्व मनाइन्छ ।
कुशको पूजा गरी मनाईने पर्वका लागि व्रतालु महिलाहरु सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालय बाहिर, नेपाली सेनाको ब्यारेक र चौबिस हजार नहर लगायत कुश भएका विभिन्न स्थानमा पुगेका थिए । त्यहाँ भक्तजनको भीड लागेको थियो । कतिपयले भने आफ्नै घरमा पूजा गरेका थिए ।
पूजाका लागि चाहिने महुवाको पात र कुश लिनका लागि तिलौराकोट नजिकै रहेको वन क्षेत्रमा धेरैको भिड लागेको थियो ।
भाद्र कृष्ण पञ्चमीका दिन पर्ने यो पर्वमा महिलाहरु व्रत बस्ने र पूजापाठ गर्ने गर्छन् । बिहानै व्रतालु महिलाले महुवाको दतिवनले दात माझ्ने चलन छ । बिहानै स्नान गरी व्रत, पूजापाठ र भजन किर्तन गरी तीन छठ्ठी पर्व मनाउने गरिन्छ ।
छोरा हुने महिलाले सन्तानको सुखशान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन् भनेर व्रत बसेर पूजाआजा गर्ने परम्परा रहेको कपिलवस्तु नगरपालिका-१२ की सीता पाण्डेले बताइन् ।
दिनभरिको उपवास सकेपछि साँझ हलो नजोतिएको खेतको अन्न अर्थात् (तिन्नीको चामलको भात र साग) खाने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्