काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले गृहमन्त्री लेखकले न्यायालयमा हस्तक्षेप गर्न खोजेकोबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले सार्वजनिक अभिव्यक्ति दिइसकेको उल्लेख गरिन् । उनले रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा न्याय परिषद्मा परेको उजुरी तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको समाचार सार्वजनिक भएको उल्लेख गरिन् ।
डा. कार्कीले न्याय परिषद्मा उजुरी दर्ता भएपछि स्वतन्त्र न्यायको सम्भावनाबारे प्रश्न उठाइन् । उनले भनिन्, ‘न्यायालयमा उनको हस्तक्षेपबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइसकेको छ । रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उनको सचिवालयबाट सबैतिर पठाइएको समाचार छरपस्ट छन् । पेसी चढेकै दिन यसरी न्याय परिषद्मा उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ, सभामुख महोदय ? कानुन जान्ने व्यक्तिले यस्तो कदम चाल्दा समाजमा के सन्देश जान्छ ? केही व्यक्तिहरुले मन्त्री र प्रधानमन्त्रीले समेत न्यायाधीशलाई फोन गरेको आरोप लगाएकै हुन्?’
प्रतिक्रिया दिनुहोस्