वीरगन्ज कारागारका कैदीको मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा नाराबाजी

वीरगन्ज: वीरगन्जको नारायणी अस्पतालमा मंगलबार बिहान उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उनका परिवारजन र आफन्तले प्रदर्शन गरेका छन्।

कर्तव्य  ज्यान मुद्दामा विगत ५ वर्षदेखि वीरगन्ज कारगारमा कैद सजाय भुक्तानी गरिरहेका वीरगन्ज महानगरपालिका – २५ का २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा  बिहान १०:३० बजे मृत्यु भएको हो। 

Seti Hospital

प्रहरी र स्थानीय प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको भन्दै मृतकका परिवारजन र आफन्तले अस्पताल अगाडिको सडकमा टायर बालेर प्रहरी–प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। 

नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार मंगलबार बिहान ८:३० बजे कारगारको प्रहरीले राहुललाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो। त्यसबेला राहुलको मुखबाट रगतसहितको फिज निस्किइरहेको थियो। अवस्था निक्कै जटिल भएका कारण उनलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने तर आइसीयु वार्डमा शैया खाली नभएका कारण डाक्टरले अन्यत्र लैजान कुरुवालाई सुझाएका थिए। 

त्यसपछि डाक्टरले रिफरको कागज बनाइदिए। तर, अवस्था झनै बिग्रिदै गएपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग सल्लाह गरेर नारायणी अस्पतालमै आइसीयुको व्यवस्थापन गरेर थप उपचार गर्नेक्रममा राहुलको मृत्यु भएको डाक्टर सिंहले बताए। 

डा.सिंहले भने,‘अन्यत्र रेफरको तयारी डाक्टरले गरिरहेका थिए। तर बिरामीको अवस्था झन्  झन् बिग्रिदै गइरहेको थियो। बाहिर पठाउँदा बाटोमै बिरामीको ज्यान जान सक्ने जोखिम देखियो। त्यसपछि सीडीओ साबसँगको सल्लाहमा आइसीयुमा जसोतसो गरेर एउटा बेड खाली गराएर ती बिरामीलाई राख्यौं। तर, उपचारका क्रममा  उनको डेथ भयो।’

राहुलको मृत्युको कारण पल्मोरी इडिमा (हार्ट फेलियर) रहेको पनि उनले जानकारी दिए। यता मृतकका परिवारजन र आफन्तले भने स्थानीय प्रशासन र प्रहरीको लापरवाहीका कारण समयमै उपचार नपाउँदा राहुलको मृत्यु भएको आरोप लगाएका छन्। 

मृतक राहुलको काकाका छोरा जगदीश साह तुराहाले भाइ राहुलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डाक्टरले रेफर गरिसक्दा पनि सीडीओको आदेशमा प्रहरीले बिरामीलाई अन्यत्र लैजान नदिएको आरोप लगाए। उनले भने,‘डाक्टरले आइसीयु बेड खाली नभएकाले अन्यत्र लैजान रेफर लेखिदिए। त्यसपछि हामीले एम्बुलेन्स बोलाएर भाइलाई एम्बुलेन्समा राखिसकेका थियौं। त्यहि बेला एक प्रहरी आएर बाहिर लैजान मिल्दैन। सीडीओ साब को आदेश छ। यहि अस्पतालमा उपचार गराउनुपर्छ भन्दै रोकिदिए। हामीले धेरै गुहार लगायौं तर हाम्रो कुरा सुनिएन । जसका कारण मेरो भाइको सही उपचार नपाएर मृत्यु भयो। प्रहरी र प्रशासनले मेरो भाइको ज्यान लियो।’

दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नपाएसम्म शव आफूहरूले नबुझ्ने पनि उनले बतए।  पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले भने कारगारमै हर्ट अट्याक भएर नारायणी अस्पतालमा पुर्‍याइएका कैदी राहुलको उपचारका क्रममा मृत्यु भएको बताए। उनका अनुसार,कारागार प्रशासनले नारायणी अस्पतालको आकस्मिक कक्षमा पुर‍्याएका कैदी राहुलको स्वास्थ्य अवस्था निकै जटिल थियो। तर, अस्पतालको आइसीयु वार्डमा शैया खाली थिएन। त्यसपछि आफूले चिकित्सकलाई फोन गरेर आइसीयुमा बेड खाली गराएर बिरामीलाई भर्ना गराउन लगाएको अर्यालले बताए। 

तर, पहिलेदेखि नै बिरामीको अवस्था निक्कै जटिल भएका कारण चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि उपचारकै क्रममा उनको मृत्यु हुन पुगेको अर्यालले बताए। अर्यालले भने,‘बिरामीको उपचारमा कसैको पनि लापरवाही भएको छैन। कारागार प्रशासनले समयमै बिरामीलाई अस्पतालमा पुर्‍याएको थियो। अस्पतालका डाक्टरले पनि आइसीयुमा बेड खाली गराएर उपचार गरेकै हुन्। तर, पहिलेदेखि नै अवस्था जटिल भएका कारण डाक्टरले बिरामीलाई  बचाउन सकेनन्।’

मृतकका परिवारजन र आफन्तसँग छलफल गरेर उनीहरूको गुनासो सुन्न आफू तयार रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार