बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीमा १६ हजार बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन्।दिनहुँ राष्ट्रिय परिचय पत्रका लागि आवेदन गर्नेको संख्या बढ्दै गएपनि छापिएर आएका राष्ट्रिय परिचयपत्र भने कार्यालयमै थन्किएका छन्।
राष्ट्रिय परिचयपत्रका लागि आवेदन भरेका मध्ये गत असार मसान्तसम्म २० हजार ७२५ राष्ट्रिय परिचयपत्र छापिएर जिल्ला प्रशासनमा आइसकेका छन् ।
अहिलेसम्म ४ हजार ४५६ जनाले मात्रै राष्ट्रिय परिचयपत्र बुझेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनका शाखाका दर्ता अपरेटर रामदत्त भट्टले बताए।आवेदन भर्नेको संख्याभन्दा छापेर आएका राष्ट्रिय परिचयपत्र बुझ्नेको संख्या न्यून छ।परिचय पत्र व्यवस्थापन शाखामा १६ हजार २६९ थान परिचयपत्र थन्किएका उनले बताए ।
दैनिक ५-६ जनामात्रै परिचय पत्र बुझ्नका लागि कार्यालयमा आउने उनले बताए।राष्ट्रिय परिचयपत्र बुझ्नका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने प्रावधान रही आएको छ।राष्ट्रिय परिचयपत्र बुझ्दा बायोमेट्रिक लिनुपर्ने भएकाले स्वयं व्यक्ति उपस्थित हुनुपर्ने भट्टले बताए।राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गर्ने समयमै परिचयपत्र नम्बर पाइने भएकाले धेरैजसोले परिचयपत्र नम्बरबाट काम चलाउने गरेको उनले बताए ।
राष्ट्रिय परिचयपत्र दर्ताका लागि अहिले पनि दैनिक ७० जना जति आउने गरेका छन्।सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको संख्या बढ्दै गएको छ।राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दै गएपनि छापिएर आएका परिचयपत्र बुझ्नको संख्या भने न्यून रहेको छ।
जिल्लाबाट राष्ट्रिय परिचयपत्रका लागि १ लाख ३३ हजार ४ जनाको विवरण संकलन गरिएको छ।बैंकले खाता खोल्दा र पेन्सन खाता नवीकरण गर्दा मात्र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अनिवार्य गरेको छ।
अन्य काममा राष्ट्रिय परिचयपत्रको नम्बर भए पनि काम चल्ने भएकाले छापिएर आएका परिचयपत्र बुझ्नको संख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए।
राष्ट्रिय परिचयपत्र बुझ्दा बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने हुँदा परिचयपत्र बुझ्न सेवाग्राही स्वयं आउनुपर्ने उनले बताए।
सरकारले सामाजिक सुरक्षा भत्ता, बालबालिकाको पोषण भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। परिचयपत्रको कार्ड नै नचाहिने तर नम्बर भए पनि नवीकरण गर्न सकिने भएकाले परिचयपत्र बुझ्नेको संख्यामा कमी आएको छ।
प्रतिक्रिया दिनुहोस्