चार वर्षपछि झलनाथ भेटेका वामदेव भन्छन्– सँगै भएकोमा खुशी भयौं, विगतका धेरै कुरा सम्झियौं

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेकपा एकीकृत समाजवादी प्रवेश गरेका वामदेव गौतमले शनिबार लामो भेटवार्ता गरेका छन् ।

खनालसँग यस्तो खाले भेटवार्ता गौतमले चार वर्षपछि गरेका हुन् । ‘अस्ति २ गते पार्टी एकता हुँदा छोटो कुराकानी भएको थियो, बसेर लामो कुरा भन्ने बाचा गरेका थियौं’, गौतमले भने ।

Seti Hospital

गौतमका अनुसार पार्टी एकताकै दिन भएको योजना बमोजिम शनिबार भेटवार्ता भएको थियो । ‘बिहान माधव नेपालसँग उहाँको (झलनाथ खनालको) भेट भयो, दिउँसो हामी कुरा बसेर बस्यौं’ गौतम भन्छन्, ‘२ गतेको छोटो भेट छोड्ने हो भने यो चार वर्षपछिको बसाइ थियो । हामी एकदमै खुशी भयौं ।’

एउटै पार्टीमा भएको खुसी साट्ने काम सँगसँगै दुवैले विगतलाई सम्झिएका थिए । ‘राजतन्त्रलाई फाल्न कस्ता–कस्ता संघर्ष गर्नुपर्‍यो । कम्युनिष्ट आन्दोलनको विकास र बिस्तार गर्न कस्ता–कस्ता भूमिका खेल्नुपर्‍यो’ पूर्वउपप्रधान एवं गृहमन्त्री गौतम भन्छन्, ‘विगतका यस्तै कुरा राख्दा धेरै समय गयो ।’

पार्टीभित्र विगतमा देखिने अन्तरसंघर्ष र तिनको समाधानमा भएका प्रयत्नहरु सम्झने प्रयास पनि सम्वादका क्रममा भएको थियो । ‘देशलाई संविधान जारी गर्ने तहसम्म लैजान हामीले खेलेको भूमिका सम्झियौं, आगामी राजनीतिक कोर्सका बारेमा पनि कुरा भयो’, गौतम भन्छन् ।

माधवसँगको छलफलमा झलनाथले भने– मार्गप्रशस्त तपाईंकै हितमा छ

सम्वादका क्रममा गौतमले एकीकृत समाजवादीमा गएपछि आफूलाई अलमलमा राखिएको बारेमा पनि कुरा उठाएका थिए । विशेषगरी आफूलाई जिम्मेवारी दिएर जाने कुरामा अलमल देखिएको प्रसंग गौतमले उठाएका थिए ।

‘एउटै पार्टीमा त भइयो । तर मलाई के जिम्मेवारी दिने भन्ने कुरा अगाडि बढेन’ गौतमले भनेका थिए, ‘पार्टी एकता त मेरो जिम्मेवारीका निम्ति पनि गरेको हो ।’ आफूले पाउने जिम्मेवारीले राष्ट्र, जनता र पार्टीलाई हित हुनुपर्ने उनले बताएका थिए ।

‘मैले के जिम्मेवारी लिँदा ठीक हुन्छ, जनतालाई ठीक हुन्छ, राष्ट्रलाई ठीक हुन्छ । त्यसअनुसार निर्णय लिनु पर्‍यो’, गौतमले भनेका थिए ।

गौतमसँगको छलफलमा खनालले पार्टीको अवस्था र अध्यक्ष माधवकुमार नेपालबारे पनि छोटो कुरा राखेका थिए । पार्टीले गति लिन नसकेको, विद्रोह पुष्टि गर्नुपर्ने चुनौती कायमै रहेको, तर माधव नेपालले आफूलाई पार्टी नै छोडेर जानू भन्ने जस्ता कुरा उठाउने गरेको लगायत प्रसंग खनालले उठाएका थिए ।

गौतमले भने माधव नेपालका बारेमा खनालसँग कुरा नभएको बताउँछन् । ‘माधव नेपालका बारेमा कुरै गरिनँ । माधवसँग बस्दा झलनाथको र झलनाथसँग बस्दा माधवको कुरा गर्ने मेरो आदत पनि होइन’, गौतमले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार