नवलपरासी — महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने पहाड वारपार गर्न ७ घण्टा लाग्ने गरेको छ। दाउन्नेको विश्वकर्मा मन्दिर नजिकको उकालोमा गाडी फसेका कारण त्यहाँ घण्टौँ लामो जाम हुन्छ।
‘बिहान पौने ४ बजे दाउन्ने आइपुगेको हो, अझै ३ किलोमिटर परको विश्वकर्मा मन्दिर पुगेको छैन। यहाँ गाडी फसेर रमिता छ,’ कावासोतीबाट बुटवलतर्फ हिँडेका राम पराजुलीले भने, ‘गत सोमबारदेखि यहाँको अवस्था यस्तै छ। दाउन्ने वारपार गर्न कम्तीमा ७ घण्टा लाग्छ।’ राजमार्गमा हजारौँ यात्रु बिचल्लीमा परिरहेका उनले सुनाए।
नारायणगढबाट बुटवलतर्फ हिँडेका सयौँ गाडी दाउन्नेमा रोकिएका छन्। दुम्कीवासबाट ३ किलोमिटर पश्चिम विश्वकर्मा मन्दिर नजिक सडक भासिएर पुरिएको स्थानमा गाडी चढ्न नसकेर समस्या भएको हो। दाउन्नेमा ढलान गरिएको सडकमा गाडी एक पटकमा एउटा मात्र वारपार गराउनुपर्ने बाध्यताले समस्या थपिएको हो।
इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्स्पेक्टर राजन तिमिल्सिनाले झरीले दाउन्ने सडकमा आउजाउ गर्न कठिन भएको बताउँदै ६ स्थानमा सडक एकतर्फी मात्रै सञ्चालन भएका कारण लामो जाम भएको बताए।
चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम नगरेका कारण दाउन्नेमा सामान्य वर्षा हुनासाथ घण्टौँ जाम हुने गरेको छ। बुधबार बिहान ६ बजेपछि वर्षा रोकिएका कारण साँझसम्म केही सहज हुन सक्ने उनले दाबी गरे।
‘राजमार्ग जाम भएको तीन दिन भयो। दाउन्नेमा चिनियाँ ठेकेदारले काम गरेको छैन, सरकार बेखबर छ,’ दाउन्नेमा जाममा फसेका शिव पाण्डेले टेलिफोनमा दुखेसो पोखे, ‘यो दाउन्नेको जाम हटाउने जिम्मेवारी कसको हो?’
प्रतिक्रिया दिनुहोस्