काठमाडौँ — कुशल मल्लले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । उनलाई समेट्दै नेपालले अस्ट्रेलियामा हुने टप इन्ड टी–२० क्रिकेट प्रतियोगिताका लागि सोमबार १६ सदस्यीय टोली घोषणा गरेको छ । नर्थन टेरिटोरीको आयोजनामा अगस्ट १४ देखि २४ सम्म डार्बिनमा यो प्रतियोगिता हुँदै छ ।
देब्रेहाते ब्याटिङ अलराउन्डर कुशललाई नयाँ प्रशिक्षक स्टुवार्ट ल आएपछि टोलीमा समावेश गरिएको थिएन । जसका कारण कुशलले स्कटल्यान्ड भ्रमणमा विश्वकप लिग २ का साथै तीनदेशीय ट्वान्टी–२० शृंखला गुमाएका थिए । टप इन्डबाट कुशलले नेपाली टोलीमा पुनरागमन गर्ने भएका छन् ।
रोहित पौडेलको कप्तानीमा घोषित नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, आरिफ शेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकश बम र ललित राजवंशी छन् ।
कुशलसँगै सोमपाल र गुलशन पनि टोलीमा फर्किएका छन् । स्कटल्यान्डमा लिग २ को पहिलो ३ खेल खेले पनि सोमपाल र गुलशनले चोटका कारण तीनदेशीय ट्वान्टी–२० शृंखला गुमाएका थिए । स्कटल्यान्डमा खेलेको टोलीबाट अनिल साह र किरण ठगुन्नालाई अस्ट्रेलिया जाने टोलीमा राखिएको छैन ।

नेपालले डार्बिनमा आयोजक टोली नर्थन टेरिटोरीसँग अगस्ट १५ मा आफ्नो पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले बंगलादेश ‘ए’ सँग अगस्ट १६ मा, मेलबर्न स्टार्ससँग अगस्ट १८ मा, होबर्ट हरिकन्ससँग अगस्ट १९ मा, मेलबर्न रेनेगेड्ससँग अगस्ट २० मा र पाकिस्तान साहिन्ससँग अगस्ट २० मा खेल्ने छ । राउन्ड रोबिन लिगमा एकअर्कासँग खेलेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । नेपाली राष्ट्रिय टोली पहिलो पटक अस्ट्रेलिया गएर खेल्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्