सुन बेचेर छोरीलाई क्रिकेटर बनाएकी मोतीमाया

काठमाडौँ — सधैं पत्रिकामा छोरीको नाम र फोटो देखेर गौरवान्वित हुने आमाले एक दिन आफैंलाई देखिन् भने के सोच्छिन् होला ? महिला क्रिकेटर सीता राना मगर लख काट्छिन्, ‘सुरुमा त दंग पर्नुहुन्छ होला ।’ मोतीमाया राना मगर न खुसीलाई शब्दमा व्यक्त गर्छिन्, न दुःखलाई ‘सेयर’ । तैपनि आमाका भावना बुझ्न सन्तानलाई कुनै शब्दको सहारा चाहिँदैन् । आमाका अनुहारका रेसा–रेसामा लुकेका पीडाहरू उनी सजिलै खुट्याउन सक्छिन् । 

आमाकै कथा सुनाइरहेकी सीता यतिबेला सम्भावित अनुमान लगाइरहेकी छन्, ‘जब आमाले पत्रिकामा आफैंलाई पढ्नुहुन्छ, उहाँका आँखाहरू धमिला हुन सक्छन् ।’ आमालाई सम्झेर छोरी यति पोखिन्छिन् भन्ने मोतीमायालाई सायदै थाहा छ । उनलाई यति थाहा कि, ‘छोरी त कडा छे ।’ आफूसँग कहिले जिस्कने र कहिले रिसाउने छोरीको स्वभावसँग मोतीमाया परिचित छिन् । तर आफैंलाई लिएर यति कोमल सुनिन्छिन् त ? ‘म यति अनुगृहित छु भन्ने कुरा उहाँले पढेपछि मात्र थाहा पाउनुहुन्छ,’ खुसी मिश्रित भावका साथ उनी भन्छिन् ।

Seti Hospital

सीता क्रिकेटको मैदानमा ओर्लिएर बलिङ र ब्याटिङमा उत्रिएको वर्षौं भइसक्यो । तर त्यही मैदानमा छोरी पठाउन संघर्ष गर्ने आमालाई क्रिकेटबारे दुई कुरामात्र थाहा छ, ‘कि हार कि जित ?’ छोरी टेलिभिजनमा छाइरहँदा उनले सुन्ने भनेको त्यही अन्तिम परिणाम हो । त्यही परिणामपछि थाहा हुन्छ, मोतीमाया खुसी छिन् कि दुःखी ? आफ्नो हार त के ? छोरीको हार त्यति बिझाउँछ आमालाई ।

यदि जितेमा ? मोतीमायाको आँखामा खुसीका मोतीहरू नै झर्छन् ।

यतिबेला कोहलपुर गर्मीले बाफिन्छ । अनि सीता चाहिँ बाआमा सोचेरै बाफिन्छिन् । काठमाठौंबाट फोन गरेर भन्छिन्, ‘गर्मीभरि यता आएर बस्नु न ।’ बाआमा मान्दैनन् । काठमाडौं कोहलपुरभन्दा प्यारो हुनै सक्दैन उनीहरूलाई । बरु एपीएफले छुट्टी दिँदा सारा दिन उनी उतै गएर काट्छिन् । उमेरको उकालो चढिरहेकी आमाका चिन्ताहरू सुन्छिन् । मोतीमायालाई अहिले दुई कुरा हेर्ने असाध्यै रहर छन् । कान्छी छोरीको बिहे र माइली छोरीको सन्तान । आमाको बडो चिन्ता देखेर दिदी–बहिनी हाँस्छन् । र, आमालाई जिस्काइरहन्छन् । सीता सम्झेर भन्छिन्, ‘आमाका चिन्ता पनि सन्तानका उमेरअनुसार फरक हुने रहेछन् हगी !’

उनी जीवनका पानाहरू पल्टाएर हेर्छिन् । ती पानाहरूमा आमाका समय–समयका सुस्केराहरू सुनिन्छन् । बा विष्णुबहादुर नेपालको आर्मीमा थिए । घरमा आमा, दिदी तारा र सीता । तारा सरकारी स्कुल पढिरहेकी थिइन् । घरको आर्थिक स्थिति सुध्रिएको थिएन । तैपनि मोतीमायाभित्र एउटा अठोट पलायो, ‘जेठीलाई त सकिनँ, कान्छीलाई चाहिँ बोर्डिङ स्कुल पढाउँछु ।’ मोतीमायाले घरमा रक्सी बनाएर बेच्न थालिन् । त्यही कमाइको बलले सीताका लागि बोर्डिङ स्कुलको दैलो खुल्यो ।

त्यही स्कुलमा पुगेर सीताले कलम मात्र हैन, सँगै बल र ब्याट पनि समाइन् । फुटबल खेलिरहने सीतालाई एक दिन ग्रिनविच सेकेन्डरी स्कुलका प्रिन्सिपलले भने, ‘तँ आज साँझ क्रिकेटको तालिममा आइनस् भने पिटाइ खान्छेस् ।’ प्रिन्सिपलको पिटाइ खाने डरले उनी क्रिकेटको तालिममा गइन् । त्यही तालिमबाट सीतालाई थाहा भयो, ‘म त लेफ्टी रहेछु ।’ संयोगवश, क्रिकेटमा लेफ्टी हुनु त फाइदाजनक रहेछ । त्यहाँबाट सुरु भएको क्रिकेट यात्राले सीतालाई कहिल्यै पछाडि फर्केर हेर्न दिएन । ‘लाग्छ, आमाले बोर्डिङ स्कुलको आँगन नटेकाउनुभएको भए म कहिल्यै क्रिकेटको मैदानमा हुने थिइनँ,’ सीता आमालाई श्रद्धासहित सम्झन्छिन् ।

सीताको ब्याच नेपालमै क्रिकेटको पहिलो महिला ब्याच हो । नेपालका पूर्वकप्तान एलबी क्षेत्रीले बाँकेबाट महिला क्रिकेटको सुरुवात गरे । प्लान इन्टरनेसनलले उनलाई साथ दियो । नेपालगन्जबाट स्कुलस्तरीय प्रतियोगिता हुन थाल्यो । खेल्नमा स्कुलकै साथ पाइरहेकी सीतालाई एउटै कुराले बिझाएको थियो । खेलमा केवल बाको साथ थिएन । बा सोच्थे, ‘खेल्ने केटीहरूलाई समाजले राम्रो मान्दैन ।’ बा गाली गरिरहन्थे, बाटो छेकिरहन्थे । आमा छोरीको रहरको प्रतीरक्षाका लागि अडिग उभिरहन्थिन् । ‘मेरै कारण बा र आमाको धेरै पटक झगडा परिरह्यो,’ सीता ती नमीठा दिन सम्झन्छिन् ।

सीता घरबाट साथीकहाँ पढ्न भनेर निस्कन्थिन् । अनि मैदानमा अभ्यासका लागि पुग्थिन् । एक दिन आमा बर्दियास्थित मामाघर गएको दिन थियो । घरमा बा थिए । त्यहीबेला खेलका लागि उनी बाँकेको टिममा परिछन् । सीताले आमालाई फोन गरेर बालाई सम्झाइदिन भनिन् । तर बाले कहाँ मान्थे ? उल्टै रिसाए । ‘म्यानेजर सरले बुबालाई छोरीले राम्रो खेल्छ भनेपछि मात्र बल्ल पठाउनुभयो,’ सीता सम्झन्छिन् ।

खेलकै कारण बा र छोरीको नमीठो विवाद भयो । त्यो एसएलसी दिएपछिको घटना थियो । एक दिन बाले छोरीलाई धुइँपताल खोजेछन् । नदेखेपछि रिसले चुर भएछन् । छोरी घर आउनासाथ रिसाउँदै कराएछन् । ‘म पनि रिसाहा थिएँ । बालाई के के भनें,’ त्यो अप्ठ्यारो क्षण सम्झँदै सीता भन्छिन्, ‘त्यसपछि मैले घर छाडेर जाने निर्णय गरें ।’

मामाघरका बाजे काठमाडौं बस्थे, सीताले पनि बाजेसँगै काठमाडौं जाने निधो गरिन् । जब छोरीले निर्णय नै गरिन्, बा पग्लिन थाले । तर, सीता सम्झाउँदा पनि सम्झिने मनस्थितिमा थिइनन् । ‘बाले आफैं लाइन बसेर त्यतिबेला मोबाइलसँगै सिम निकालेर ल्याउनुभयो,’ उनी सुनाउँछिन् । जाने दिन आमाका आँखा रसाएका थिए । आवेगमा काठमाडौं त आइन् । तर बिस्तारै घरको यादले उनलाई सताउन थाल्यो । एक दिन त अति भयो । मध्यराति फोनकलमा बाआमासँग निचोरिएर रोइन् । आमाले आतिँदै भनिन्, ‘नरो, भोलि बा लिन आउनुहुन्छ ।’

छोरीले नखेलोस् भन्ने बुबा अचानक कसरी बदलिए ? तीन वटा अन्तर्राष्ट्रिय म्याच खेलेर आउँदा पनि बालाई मन परेको थिएन । तर गाउँठाउँमा छोरीकै नामले चिनिन थालेपछि उनी चकित थिए । टीभी हेर्थे, छोरी छाइरहेकी हुन्थिन् । पत्रिका हेर्थे, नाम आइरहेको हुन्थ्यो । एक दिन एउटा अन्डर–१९ खेलमा जितेर आएपछि क्यानले सबै खेलाडीलाई १० हजार दिएको थियो । त्यो पैसा उनले घर पुगेर बाको हातमा थमाइदिइन् । ‘पैसा थमाएपछि बा मलाई हेर्दैर् रुनुभयो,’ सीता सुनाउँछिन् । अहिले छोरीको खेलबारे सबैभन्दा बढी चासो त बालाई नै हुन्छ । छोरीले नखेल्दा होस् वा हार्दा फोनमा बाका सान्त्वनाका आवाज सुनिन्छिन् ।

यता आमाले भने छोरीको खेलमा साथ मात्र दिइनन्, त्याग पनि गरिन् । आमाहरूले जतनले जोगाउने सुनको महत्त्व उनीहरूलाई बिछट्टै हुन्छ । तर छोरीको सपनाभन्दा ठूलो त के होला ? सीता काठमाडौंमा एकेडेमी भर्ना हुँदा सामानहरू किन्नु थियो, पैसा थिएन । मोतीमायाले कानमा लगाइरहेको सुन झिकिन् र बेचिन् । आमाले सुन बेचेर आफ्नो सपना पूरा गरिरहेको कुराले सीताका आँखा भरिए । मनमनै प्रण गरिन्, ‘एक दिन आमालाई योभन्दा ठूलो सुन किनिदिनेछु ।’

सन् २०१४ तिर, एसियन खेलको समयमा कोरियाकै बोर्डले सीतासहितलाई खेलका लागि लिएर गएको थियो । तीन महिनामा उनको तलब ३ लाख थियो । जुन उनले कल्पनासम्मै गरेकी थिइनन् । पैसा हात पर्नासाथ उनले मनमनै गरेको प्रण सम्झिइन् । घर आउनुअघि दिदीलाई पैसा पठाउँदै आमालाई सुनको बाला किनिदिन भनिन् । दिदीले आमाले थाहै नपाउने गरी किनेर राखिन् । जब सीता घर पुगिन्, उनले आमालाई ‘सरप्राइज्ड’ दिइन् । ‘त्यो देखेर आमाले खुसीको आँसु झार्नुभयो,’ सीता सुनाउँछिन् । कोरिया जानुअघि आमाले सीताका लागि एउटा मन्दिरमा भाकल गरेकी रहिछन् । छोरी फर्केपछि मोतीमाया छोरीसँगै भाकल गरेको मन्दिर पुगिन् ।

मोतीमाया कुखुरा पाल्थिन्, बाख्रा पाल्थिन् । घरका काम बरु आफैं गर्थिन्, दिदीलाई अह्राउँथिन् । सीतालाई जहिल्यै सुखसयलमै राखिन् । कुनै काम पर्नासाथ सीता हातमा किताब र कापी समाइहाल्थिन् । मोतीमायाले छोरीले काम नगरेको गुनासो पनि कहिल्यै गरिनन् । बरु छोरीलाई सिकाउन भनेर छिमेकी घरमा पठाउँथिन् । स्कुलमा रिजल्ट लिन जाँदा छोरीको प्रगति विवरणले मनमा शीतलता दिन्थ्यो सायद । पुलकित हुँदै फर्किन्थिन् ।

आमाले बोर्डिङ स्कुल पठाउनुको फाइदामध्येको एक त भाषा पनि रहेछ । यो कुरा मलेसियामा खेल खेल्न जाँदा मात्र अनुभूत गरिन् सीताले । त्यहाँ अरू साथी अंग्रेजी भाषासँग सहज थिएनन् । उनी अन्तर्क्रिया गर्न सक्थिन् । ‘त्यतिबेला पनि लाग्यो, आमाले दुःख गरेर पढाएकै कारण आज म अंग्रेजी बोल्न सक्ने भएँ,’ सीता भन्छिन् ।

सीता बलर थिइन् । तर एउटा घटनाले उनलाई ब्याटर बन्न प्रेरित गर्‍यो ।

२००९ मा मलेसियामा भएको एसीसीको एउटा प्रतियोगितामा सीता नेपाली टोलीमा परिनन् । दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीलाई क्याम्पमा पनि नबोलाउँदा त ज्वारभाटा नै छुट्यो । टोलीमा नपर्नुको पीडाले मन अशान्त बन्यो । छोरीले क्रिकेट खेलेकोमा गर्व गरिरहेका बाआमामा कस्तो असर पर्ला ? त्यो सम्झेरै सीता छट्पटाउन थालिन् । सोचिन्, ‘मेरो त क्रिकेट करिअर नै गयो ।’ तर त्यो पीडालाई कमजोरीमा हैन, शक्तिमा बदलिन् सीताले । त्यसपछि उनी क्रिकेट ट्रेनिङ सेन्टर नियमित जान लागिन् । त्यहाँ ज्ञानेन्द्र मल्ल, सुधीर महर्जनलगायतको दरिलो साथ पाइन् । एक वर्ष कडा मिहिनेत गरिन् । ‘त्यो मिहिनेतपछि त म सिधै ब्याटिङमा आएँ,’ सीता सुनाउँछिन् । त्यसपछि एपीएफमा जोडिइन् । ‘एफीएफमा जोडिनुले मेरो प्यासन प्रोफेसनमै परिणत भयो,’ उनी सुनाउँछिन् ।

केही महिनायता दाहिने खुट्टामा चोटका कारण सीता विश्राममा छिन् । यहीबीचमा उनको दुई वटा यात्रा छुट्यो । उनले बालाई यो कुरा सुनाएकी थिइन् । ‘बाबाले चिन्तित हुँदै आमालाई सुनाउनुभएछ । आमाले फोन गरेर दुःख मान्नुभयो,’ सीता सुनाउँछिन् । सीता आमाको सहनशीलता देखेर बेलाबेलामा भावुक हुन्छिन् । पारिवारिक कुरामा कहिलेकाहीँ विभिन्न तनाव उत्पन्न भइरहन्छन् । बा भने फोन गरेर छोरीलाई सुनाउन खोज्छन् । आमा रोक्छिन्, ‘उनीहरूको आफ्नै तनाव छ । झन् दुःख दिनुहुन्न ।’

बरु एक्लै रुन्छिन् । आमा रोएको कान्छी बहिनी सीमाले बेलाबेलामा देखेकी छन् । उसो त मोतीमाया सुगरको बिमार छिन् । सीतालाई अहिले आमाको यही कुराले पिर लाग्छ ।

समयको फेरो पत्तै नपाई घुम्छ । फर्केर हेर्दा सीतालाई पछुतो लाग्ने कुराचाहिँ आफ्नै स्वभावदेखि हो । ‘मैले किन बाआमालाई समय दिइनँ ?’ किशोरकालीन समयका दिनहरू सम्झिँदै भावुक हुन्छिन् । अब त उमेर बढ्दै गइरहेका बाआमाको चिन्ता घटाउने मन छ सीतालाई । अनि आफूसँगै घुमाउन मन छ ।

कुनैबेला उनको एउटा चाहना थियो । कोहलपुरको एकतले घरलाई तलबाट नियाल्दै कल्पना गर्थिन्, ‘एक दिन यो घरको तला थपेर दुई तला बनाउँछु । अनि आमालाई कौसीमा उभ्याएर गाउँ हेर्न लगाउँछु ।’ त्यो रहर त पूरा भयो । अबचाहिँ ? खेल जीवनमा ३३ देश घुम्दा जहाँ पुगे पनि उनलाई लाग्थ्यो, ‘यहाँ मसँगै आमा भइदिएको भए ?’ सीता अब त्यही रहरलाई यथार्थमा बुन्न चाहन्छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार