क्विटो — ब्राजिलले वुमेन्स कोपा अमेरिकाको उपाधि आइतबार रक्षा गरेको छ । उसले फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल ४–४ को बराबरीमा समाप्त भएको थियो । ब्राजिलले दक्षिण अमेरिकी महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो नवौंपल्ट हो ।
फाइनल पूर्णतः उतारचढावपूर्ण रह्यो । इक्वेडरको स्टाडियो रोड्रिग्व पाज डेलगाडोमा भएको फाइनलमा कोलम्बियाले तीनपल्ट अग्रता लिएको थियो र प्रत्येक अवसरमा ब्राजिल खेलमा फर्कन सफल रह्यो । ब्राजिलका लागि मार्टाले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा बराबरी गोल गरिन् । उनले १ सय ५ औं मिनेटमा पनि अर्को गोल थपिन् र पहिलोपल्ट ब्राजिललाई अगाडि राखिन् । तर लेसी सान्टोसले बहादुर कोलम्बियाका लागि बराबरी गोल गरिन् ।
जितपछि ब्राजिली खेलाडी अमान्डा गुटिरेसले भनिन्, ‘मलाई लाग्छ, महिला फुटबल अगाडि अझ बढी विस्तार भइरहेको छ । यसले अन्तर्राष्ट्रिय महिला फुटबललाई अझ बढी प्रतिस्पर्धात्मक बनाएको छ । महिला फुटबललाई अझ बढी लोकप्रिय बनाउन आजको फाइनलजस्तै खेल आवश्यक हुन्छ । यसका लागि सबै खेलाडी हकदार छन् । हामीले यहाँनिर कोलम्बियाली टिमलाई पनि धन्यवाद दिनुपर्छ ।’
दुवै टिमले सुरुदेखि आक्रामक खेलेको थियो । पहिलो गोलका लागि भने २५ मिनेट कुर्नुपरेको थियो र कोलम्बियाका लागि लिनडा काइसेडोले गोलको खाता खोलिन् । पहिलो हाफको अन्त्यतिर एन्जेलिनाले पेनाल्टीबाट गोल गरिन् र खेल बराबरीमा ल्याइन् । खेलले ६९ औं मिनेट छुँदा कोलम्बिया फेरि अग्रता लिन सफल रह्यो, यद्यपि यो ब्राजिली खेलाडी तारसिनाको नाममा आत्मघाती गोल रह्यो ।
त्यसको दस मिनेटपछि गुटिरेसले ब्राजिलका लागि फेरि बराबरी गोल गरिन् । यो उनको प्रतियोगितामा छैटौं व्यक्तिगत गोल रह्यो । यस्तोमा कोलम्बिया आफ्नो महिला फुटबलको इतिहासमै पहिलो महादेशीय उपाधि नजिक देखिएको थियो । तर खेलको अन्त्यतिर आएकी सब्टिच्युट खेलाडी मार्टाले बराबरी गोल फर्काइन् । यससँगै खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।मार्टाले फेरि गोल गरिन् तर यसपल्ट बराबरी गोल फर्काउने काम कोलम्बियाको रह्यो र यो सान्टोसको नाममा रह्यो । टाइब्रेकरमा पनि कोलम्बियाले नै सुरुआती अग्रता लिएको थियो तर फेरि एकपल्ट त्यसलाई कायम राख्न सकेन । सडन डेथमा कोलम्बियाका लागि काराबाली गोल गर्न चुकिन् र यससँगै ब्राजिल कीर्तिमान नवौंपल्ट उपाधि आफ्ना नाममा लेखाउन सक्षम भयो ।
ब्राजिलले पेरिस ओलम्पिक २०२४ मा रजत पदक जितेपछि ३९ वर्षे मार्टाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी थिइन् । तर ब्राजिलका व्यवस्थापक आर्थुस इलिएसले मेमा कोपा अगाडि भएको मैत्रीपूर्ण खेलका लागि डाकेर मार्टालाई राष्ट्रिय टोलीमा फिर्ता बोलाएका थिए ।
पेनाल्टी सुटआउटमा दुवैले पहिलो ६ मध्येको ४ पेनाल्टीमा गोल गरेका थिए । मार्टाले पेनाल्टी सुटआउटमा ब्राजिललाई जिताउने अवसर पाएकी थिइन् । तर उनको पेनाल्टी प्रहारलाई विपक्षी टोलीका गोलरक्षक क्याथरिन टापिआले जोगाएकी थिइन् । मार्टा नै प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिन् ।
प्रतिक्रिया दिनुहोस्