धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवं प्रमुख व्यापारिक केन्द्र धनगढी सहर चिटिक्क बनेको छ।
प्लास्टिकको प्रयोग निषेधित धनगढी नियमित सरसफाइ र उपयुक्त रूपमा फोहोरमैला व्यवस्थापनका कारण चिटिक्क बनेको हो । धनगढीको छ लेन सडक, मुख्य बजार सडकदेखि अन्य सहायक सडक सफासुग्घर भएका छन् । सडकको मिडियनमा गरिएको वृक्षारोपणले सडक क्षेत्र हराभरा भइरहेका छन्। त्यहाँ फुलेका फूलले जोकोहीलाई मन्त्रमुग्ध बनाइरहेका छन्। सहरी क्षेत्रबाट निस्केको फोहोरमैला बिक्री गरेर धनगढी उपमहानगरपालिकाले आर्थिक आयआर्जनसमेत गरिरहेको छ।
पहिले जताततै फोहोर भएको धनगढीले सरसफाइमा निकै फड्को मारेको धनगढी उपमहानगरपालिका–२ का हरिकृष्ण भट्टले बताए। ‘विगतमा धनगढीको सडक किनारमै फोहोरको थुप्रो हुन्थ्यो। दुर्गन्ध आउँथ्यो,’ उनले भने, ‘अहिले धनगढी सफा, सुग्घर भएको छ। सडकमा प्लास्टिक, कागजको टुक्रा पनि देखिँदैन।’
छ लेन सडकमा ब्रुमर र रोड वासरले नियमित सरसफाइ गर्ने गरेको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ । मेसिनले सरसफाइ गर्न नमिलेको सडकमा मान्छेबाट सरसफाइको काम भइरहेको जनाइएको छ । यसै गरी नगर प्रहरीले नियमित रूपमा अनुगमनका साथै सरसफाइसम्बन्धी नागरिकलाई सचेत पार्ने कार्य गरिरहेको वातावरण तथा खानेपानी सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले जानकारी दिए। उनले धनगढी प्रवेश गर्ने यात्रुलाई जथाभाबी फोहोर नफाल्नका लागि समेत नगर प्रहरीले विभिन्न नाकामा दैनिक सचेत पार्ने कार्य गर्दै आएको बताए। धनगढी उपमहानगरपालिका–१ देखि १३ सम्मका वडामा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ। यी वडाबाट मात्रै दैनिक ४३ टन फोहोर उत्पादन हुने गरेको जनाइएको छ। जसमध्ये हरेक दिन २१ टन फोहोर सङ्कलन गरेर त्यसलाई व्यवस्थापन गर्ने काम गरिरहेको जनाइएको छ। सङ्कलन गरिएको ७० प्रतिशत फोहोरमैला बिक्रीवितरण गरिरहेको अवस्थीले जानकारी दिए। ‘३० प्रतिशत फोहोरमैला मात्रै काम नलाग्ने देखिएको छ,’ उनले भने, ‘यसलाई पनि बढीमा १० प्रतिशतमा झार्ने हाम्रो लक्ष्य छ।’
धनगढी उपमहानगरपालिकामा सार्वजनिक स्थलमा फोहोर गर्न बन्देज गरिएको छ। त्यसरी फोहोर गर्नेलाई फोहोरमैला व्यवस्थापन ऐन, २०७४ अनुसार जरिबाना गर्ने कार्य भइरहेको छ। सार्वजनिक स्थलमा फोहोर गर्नेलाई पहिलो पटकलाई पाँच हजार, दोस्रो पटक गरेमा १० हजार र तेस्रो पटक फोहोर गरेमा १५ हजार रुपियाँसम्म जरिबाना गर्ने गरेको जनाइएको छ।
रोडमा हिड्ने बटुवाले आफूसँग भएका फोहोर फाल्नका लागि मेन बजार रोड, छ लेन सडकमा कुहिने र नकुहिने फोहोर राख्न मिल्ने निलो र हरियो रङका डस्टबिन राखिएको छ। यी डस्टबिन बटुवालाई प्रयोग गर्नका लागि राखिए पनि नगरवासीले घरको मिश्रित फोहोर ल्याएर डस्टबिनमा राखिदिने गर्नाले समस्या भइरहेको अवस्थीले बताए। ‘त्यो डस्टबिन बटुवा वा बाहिरबाट आएका व्यक्तिलाई फोहोर फाल्नका लागि राखिएको हो,’ उनले भने, ‘त्यसमा घरको फोहोर नमिसाउन म नगरवासीलाई आग्रह गर्दछु।’
प्रतिक्रिया दिनुहोस्