अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः।।१।।
आज नागपञ्चमी। हिन्दु धर्मावलम्बीले घरघरमा नागलाई पुजा गर्ने विशेष दिन। नागकको प्रतिमा वा तस्बिर मात्र भए पनि पुजा गर्ने दिन। उपर्युक्त उद्धृत हरफ नागपञ्चमीका दिन नागको पुजा गर्न उच्चारण गर्ने मन्त्र हो। अधिकांश हिन्दुधर्मावलम्बीले आजका दिन घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पुजा गर्ने गर्छन्। प्राचीनदेखि अर्वाचीन कालसम्म नागपञ्चमीमा नागको पुजाआजा गर्ने परम्परा रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन्।
‘हामी नागपञ्चमीको अवसरमा मात्र होइन अन्य समयमा पनि नागलाई दूध र लाभा खुवाएर यथोचित सम्मान र पुजा गर्दछौं,’ राकेशले भने, ‘सर्प हाम्रो शत्रु होइन मित्र पनि हो।’
वातावरणीय सन्तुलनमा सर्पको भूमिका
वातावरणीय सन्तुलन कायम राख्न सर्पको महत्वपूर्ण भूमिका रहेको विज्ञहरू बताउँछन्। पारिस्थितिक प्रणालीको एक अभिन्न हिस्सा रहेका सर्प खाद्य शृंखलाको सन्तुलनमा सहयोगी जीव मानिन्छन्।
सर्पले मुसा, भ्यागुता, छेपारोजस्ता साना जनावर खाएर तिनको जनसंख्या नियन्त्रणमा ल्याउने काम गर्छन्। कृषि क्षेत्रमा मुसा जस्ता जनावरले अन्नबालीमा क्षति पुर्याउने हुँदा सर्प अप्रत्यक्ष रूपमा कृषकको सहयोगी बन्ने सरिसृप विशेषज्ञ प्रा. करणबहादुर शाहको भनाइ छ। ‘सर्पले जैविक कीटनाशकका रूपमा काम गर्छ। यिनको संरक्षण नगरे असन्तुलित जैवप्रणालीको असर मानव जीवनमै देखिन्छ,’ उनले भने।
सर्प स्वयं काग, बाज, स्यालजस्ता जनावरहरूको आहार बन्ने भएकाले पारिस्थितिकीय सन्तुलनमा दुवै भूमिकामा रहेका छन्। साथै केही सर्पको विषबाट औषधिसमेत निर्माण हुने हुँदा तिनको वैज्ञानिक र औद्योगिक महत्वसमेत रहेको उनको भनाइ छ।
सर्पले मुसा, भ्यागुता, छेपारोजस्ता साना जीवजन्तु नखाएमा वातारणीय सन्तुलन बिग्रन्छ,’ उनी भन्छन्, ‘यस कारण वातारणलाई सन्तुलित बनाउन सर्प प्रकृतिमा हुनुपर्छ।’
नेपालको संस्कृति र लोक मान्यताको दृष्टिकोणबाट हेर्दा सर्प मानवमैत्री हुन्छन् तर ऊसलाई जब चोट पुर्याइन्छ तब ऊसले बदला लिन खोज्छ। भनिन्छ, सर्पको आँखामा ‘लेन्स’ हुन्छ। जसले ऊसलाई चोट पुर्याउँछ त्यससँग बदला लिन पनि पछि पर्दैन। उसले चोट पुर्याउने मानिसलाई लखेटेर पनि डस्न छोड्दैन।
नाग देवाधिदेव महादेवको गलामा बास गरेर उनको शीरको शोभा बढाउँछ। शेष नाग त विष्णु भगवानको शड्ढयाको रूपमा आराम विश्राम गर्न उनको सहायक र सहयोगीको रूपमा सुपरिचित छन्। बासुकी नाग सर्पहरूका सर्वेसर्वाका रूपमा चिनिन्छन्।
नागपञ्चमी पर्वले यी घस्रने प्राणी विशेषसँग सरोकार राख्छ। नागपञ्चमीको खास गरेर वर्षा ऋतुको पुजनीय र स्मरणीय देवता नागसँग सम्बन्धित भएको हुँदा आज पनि यसलाई मौलिक तवरले मनाउने चलन छ।
‘वर्षा ऋतुमा नाग नागिनको बिगबिगी चारैतिर अनुभूत हुनु सत्य कुरा हो यसलाई अस्वीकार गर्न सकिँदैन। यस ऋतुमा सर्पदंशबाट सयकडौं मानिसहरू अल्पायुमा अकालमा मृत्युवरण गर्नु परिरहेको छ,’ राकेशले भने, ‘यो धेरै चिन्ताको विषय हुन गएको छ। खास गरेर तराई मधेसमा सर्पदंशको प्रकोप बढी देखापर्छ किनभने गर्मीयाममा सर्पहरू आफ्नो प्वालमा बस्ने गर्छन् तर वर्षा ऋतुमा त्यस प्वालमा पानी प्रवेश गर्दा सर्पहरू बाहिर निस्किनु उनीहरूको बाध्यता हो।’
प्राचीनकालदेखि नै मानिसहरू आफ्नो प्राण रक्षाको लागि प्रयत्नशील रहँदै आएको कुरो प्रमाणित भइसकेको छ। फलतः मानिसहरू सर्पदंशबाट बच्न सकेसम्म प्रयत्न गर्छन्।
संस्कृतिवीद् राकेश भन्छन्, ‘प्राकृतिक प्रकोपलाई मत्थर बनाउन गन्थन मन्थन गर्ने क्रममा यसबाट उन्मुक्तिको उपाय पनि खोज्छन्। विभिन्न देवीदेवता, नदी नाला, रुखबिरुवालाई सदियौंदेखि पुज्दै आएको परम्परा लामो छ। भयको भावनाले गर्दा मानिहरू प्राकृतिक प्रकोपको प्रहार कम हुने अपेक्षा लिई पूजाआजा गर्दै आएको कुरो स्वयंसिद्ध छ तसर्थ मानिसहरूले सर्पदंशबाट बच्न सर्पहरूका देवता वासुकी नागलाई पुज्दै आएका हुन्।’
सर्पलाई कसरी जोगाउने
सर्पसम्बन्धी ज्ञान नभएर जथाभावी भ्रम फैलाएको भन्दै सरिसृप विशेषज्ञ प्रा. शाह आक्रोश व्यक्त गर्छन्। उनी भन्छन्, ‘सबै जानकारी नभएर सर्पका बारेमा जथाभावी समाचार लेख्ने र भ्रम फैलाउने गरिएको छ। त्यो गलत हो।’
सर्प जोगाउन जनचेतना फैलाउनु नै उत्तम उपाय भएको शाहले बताए। उनले सर्पको महत्व र उपयोगिताबारे पाठ्यक्रममै राख्नुपर्ने भनाइ राखे। उनी भन्छन्, ‘सर्पलाई जोगाउनु अति आवश्यक छ। जोगाउने सन्देश प्रवाह गर्न यो विषयलाई पाठ्यक्रममै समावेश गर्नुपर्छ। बाल्यकालदेखि नै सर्पबारे थाहा पाउनुपर्छ। सर्प जोगाउन जनचेतना फैलाउनु उत्तम उपाय हो।
पछिल्ला वर्षहरूमा वन विनाश, मानव बस्ती विस्तार र जलवायु परिवर्तनका कारण सर्पको आवास क्षेत्र घट्दै गएको छ। फलस्वरूप उनीहरूको संख्या घट्दै गएको उनी बताउँछन्। उनका अनुसार वातावरणीय सूचकका रूपमा सर्पहरूको अवस्था कमजोर हुनु नै पारिस्थितिक संकटको संकेत हो। त्यसैले सर्पप्रति डर होइन, समझदारी आवश्यक रहेको विज्ञहरू बताउँछन्।
यसरी मनाउन थालियो नागपञ्चमी
हिन्दुहरूको महान ग्रन्थ महाभारतमा यस्तो कथा पाइन्छ, महाराज परीक्षितले समाधिमा संलग्न शृंगी ऋषिको गलामा मृत सर्प बेरिदिएकाले ऋषि क्रुद्ध भएर आफ्ना पुत्रहरूलाई आदेश दिए कि यस्तो दुष्कर्म गर्नेलाई श्राप दिनू तर ऋषि शृंगी स्वयं क्रोधित भएकाले उनलाई श्राप दिइयो कि यो सर्प नै जीवित भएर आजको सातौं दिनमा तिमीलाई टोक्नेछ र तिमी मर्ने छौ। ऋषिको श्राप सिद्ध भयो र राजा परीक्षित आफ्नो महलमा सुरक्षित भएर सुतिरहेको अवस्थामा सर्प राजाको शयन कक्षमा प्रवेश गरेर उनलाई डस्यो र उनको मृत्यु पनि भयो।
नाग जातिसित बदला लिने अठोट राजा परीक्षितका पुत्रहरूले गरे। खास गरेर उनका पुत्र जनमेजयले नाग यज्ञको अनुष्ठान गरे। उक्त यज्ञमा सर्पहरू आएर मर्न बाध्य भए। यज्ञको अग्नि ज्वालामा यो दृश्य हेरेपछि आस्तिक ऋषिले राजालाई भन्न गए कि राजन बदला लिनु समुचित काम होइन। यसबाट त सम्पूर्ण नाग जातिको अस्तित्व नै समाप्त भएर जान्छ जुन सृष्टिको लागि राम्रो होइन। त्यसपछि जनमेजयले सो यज्ञाहुतिको अन्त्य गरेर नागवंशलाई श्रद्धा र आदर गर्नका लागि आफ्नो सम्पूर्ण राज्यमा प्रचारप्रसार गर्न थाले। त्यस बखतदेखि नै नाग पुजाको शुभारम्भ भयो अर्थात् नाग पुजाको परम्परा बस्यो।
नागपञ्चमीसम्बद्ध लोक कथा
एउटा किसान आफ्नो परिवारको साथमा सुख शान्ति र सन्तोषको साथ बसिराखेको थियो। उसका दुईवटा छोरा थिए र एकजना छोरी। एक दिन यस्तो घटना भयो कि किसान खेतमा हलो जोत्दा उसको हलोको फालीबाट तीनवटा सर्पका बच्चा मर्न गए। सर्पिणी अत्यन्त दुखी र क्रोधित भइन्। उनले राति त्यस किसानसित बदला लिने अठोट गरिन्। रातको समयमा सर्पिणीले उनकी पत्नी, दुइटै छोरालाई डसेर मारिदिइन्। अर्को दिन त्यो सर्पिणी छोरीलाई पनि डस्न तयार भएर आई। उनकी छोरीले सर्पिणीका सामुन्नेमा दुधको बटुको टक्य्राएर मृत्युको अपराधका लागि क्षमा याचना गरिन्। त्यस दिन श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथि थियो। सर्पिणी साह्रै खुसी भइन्। उनले बर माग्न भनिन्। किसानकी छोरीले आफ्नो बुबाआमा र भाइहरूलाई पुनः जीवित तुल्याइदिन प्रार्थना गरिन्। तत्पश्चात् ती सबै जीवित भए।
यस घटनापछि नै ब्रतालुहरूले ब्रत राखेर नाग नागिनीको पुजाआजा गर्न थालेको संस्कृतिविद् राकेशले जानकारी दिए। अर्थात् नाग पुजाको परम्परा त्यस बखतदेखि चल्दै आएको उनले बताए।
काठमाडौं उपत्यकामा यो पर्व मनाउने परम्परा सदियौंदेखि प्रचलनमा रहेको पनि उनले बताए। काठमाडौं उपत्यकामा नाग नागिनलाई घरमा आमन्त्रण गर्न भक्तहरूले आदरपूर्वक उनको स्वागत सत्कारका लागि मूल ढोकामा सर्प अंकित चित्रहरू टाँसिन्छ। दूध, दुबो र गाईको गोबरलाई पवित्र मानेर यसको प्रयोग शुभप्रद एवं सुखद मानिन्छ।
‘सर्प शत्रु मात्र होइन भित्र पनि हो’ भन्ने भावनाबाट प्रेरित एवं प्रभावित भएर प्रत्यक वर्षको श्रावण शुक्ल पञ्चमी पर्व मनाउने जीवन्त परम्परालाई यहाँका बासिन्दाहरूले मनाउने गरेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्