अत्तरीया— सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीबाट सार्ने तयारीप्रति तीव्र असहमति जनाउँदै अत्तरीयामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारलाई स्पष्ट चेतावनी दिएका छन् — “जनमतको अपमान गरे, चुप लाग्दैनौं।”
स्वतन्त्र नागरिक अभियानको आयोजनामा सम्पन्न उक्त अन्तरक्रियामा प्रदेश सभा क्षेत्र नम्बर ४ का चारैजना सांसद, प्रमुख दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, तथा विभिन्न संघसंस्थाका पदाधिकारीको उल्लेखनीय सहभागिता थियो। कार्यक्रम अत्तरीयास्थित प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न भएको हो।
जनभावनाको अपमान सह्य छैन
वक्ताहरूले २०७७ साल साउन १२ गते दुई-तिहाइ बहुमतबाट पारित भई गोदावरी-२ र ४ लाई स्थायी राजधानी बनाउने निर्णय संविधानसम्मत, लोकतान्त्रिक र जनभावनाअनुकूल रहेको बताएका छन्।
“उक्त निर्णय कुनै व्यक्तिको आकस्मिक चाहनाले नभई जनप्रतिनिधिमार्फत स्थापित गरिएको हो। यसलाई उल्टाउने प्रयास केवल षड्यन्त्र हो,” सहभागीहरूले प्रष्ट पारे।
कार्यक्रममा बोल्ने अधिकांशले गोदावरीलाई भौगोलिक, प्रशासनिक, ऐतिहासिक र समावेशी दृष्टिकोणले सुदूरपश्चिमको सबैभन्दा उपयुक्त राजधानी मानिएको धारणा दोहोर्याए। राजधानी सार्न खोज्नु आफैंमा असंवैधानिक कदम हुने उनीहरूको भनाइ थियो।
संघर्षको उद्घोष
स्वतन्त्र नागरिक अभियानका संयोजकले चेतावनी दिंदै भने, “राजधानी सार्ने चाल जनताले सहँदैनन्। निर्णय सच्याइएन भने सडकमै संघर्ष हुन्छ।”
कार्यक्रमले प्रदेश सरकारलाई आग्रह गरेको छ— “जनताको भावना बिर्सने गल्ती नगर्नुहोस्। गोदावरी नै सुदूरपश्चिमको राजधानी हो, यही रहनुपर्छ।”
प्रतिक्रिया दिनुहोस्