धनगढी : सुदूरपश्चिम प्रदेश सरकार राजधानी धनगढी सार्ने तयारीमा जुटेपछि गोदावरी क्षेत्रमा विरोध सुरु भएको छ। अघिल्लो प्रदेशसभाले दुई तिहाइ बहुमतका आधारमा गोदावरी–२ र ४ मा राजधानी तोकेको भए पनि सो क्षेत्र वन क्षेत्र पर्ने भएकाले कार्यान्वयनमा समस्या आएको थियो।
तोकिएको स्थानमा अहिलेसम्म कुनै संरचना निर्माण नभएको अवस्थामा प्रदेश सरकारले मुख्यमन्त्री कार्यालय आसपास क्षेत्र विस्तार गरी राजधानी संरचना बनाउन तयारी गरेको हो। यससँगै आजदेखि सुरु हुने बर्खे अधिवेशनमा राजधानी सार्ने विधेयकसमेत ल्याइने सरकारको तयारी छ।
प्रदेशसभा सांसद खिमा बिष्टले राजधानी सार्ने कुरा ‘बेमौसमी बाजा’ भएको भन्दै आपत्ति जनाएकी छन्। उनले भनिन्, “एक पटक राजधानी तोकेपछि फेरि सार्नु हुँदैन। मैले नागरिकलाई विरोध गर्न अपिल गरेको छु र संसदमा पनि आवाज उठाउँछु।”
त्यस्तै नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष सन्तोष सिंहले सामाजिक सञ्जालमा लेख्दै राजधानी सार्ने निर्णय स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनले भनेका छन्, “राजधानी घोषणा गोदावरिमा दुई तिहाइ बहुमतले गरिएको हो। कार्यान्वयन गर्नुपर्छ, नभए अखण्ड सुदूरपश्चिम आन्दोलनको झल्को एमाले गोदावरीले देखाउनेछ।”
नागरिकस्तरबाट चलिरहेको ‘जय गोदावरी अभियान’ले पनि राजधानी विषयमा छलफलका लागि आइतबार बिहान बैठक बोलाएको संयोजक धिरेन्द्र बोगटीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्