धनगढी : कोरोना महामारीका समयमा बैंककमा अधिक तरलताको अवस्था आयो । बैंकहरुले ब्याजदर घटाएर कर्जा प्रवाह गरे । निजी क्षेत्रका व्यवसायीहरुले पनि कर्जा लिए । बजारमा पैसाको उपलब्धता अधिक भए पछि बैंकहरुले पनि लगानीका लागि विभिन्न योजनाहरु अघि सारेर कर्जा विस्तार गरे ।
त्यस पछि अर्थतन्त्रमा निकै संकुचनको अवस्थामा आयो । अर्थतन्त्र कमजोर भएको र बैंकहरुको ब्याजदर पनि बढ्दै गयो । बैंकको ब्याजदर बढेर १६ प्रतिशतसम्म पुग्यो । तर, उद्योगी व्यवसायीहरुको व्यापार भने ५० प्रतिशत भन्दा पनि कम हुँदै गयो । जसले गर्दा व्यवसायीहरुलाई त्यो समयमा बैंकको महगो ब्याज तिर्नका लागि निकै गाह्रो भयो । व्यवसायीहरुले विभिन्न समयमा ब्याज घटाउनु पर्ने भन्दा आन्दोलन पनि गरे । अवस्था फेरि परिवर्तन भयो । बैंकको ब्याजदर एकल विन्दुमा आयो । जुन व्यवसायीहरुले उठाउँदै आएको माग पनि थियो । अहिले बैंककमा अधिक तरलताको अवस्था छ । ब्याजदर पनि कम छ । तर कर्जा विस्तार भने निकै कम मात्रै भइरहेको छ । निजी क्षेत्रमा नयाँ व्यापार, व्यवसायका लागि लगानी गर्ने अवस्था नै नरहेको व्यवसायीहरुको भनाइ छ । अहिले बजारमा उत्पादन भएको सामनको उपभोक्ता नै कम भएकाले लगानी गरेर उद्योग, व्यापार गर्न सक्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।
व्यवसायीहरु भनेको व्यापार गरेर नाफा कमाउने भए पनि अहिले बजारमा डिमान्ड नै कम भएका कारणले पनि नयाँ लगानी नभएका कारण कर्जा विस्तार हुन नसकेको बैंकिङ विज्ञ भुवन दाहालको भनाइ छ । ठूला ठूला आयोजनाहरु सञ्चालन गर्नु पर्ने र त्यसबाट डिमाण्ड क्रेट हुने भए पनि अहिले अवस्था त्यस्तो नरहेको उनले बताए । व्यवसाय ऋण लिने भनेको ऋण लगानी गरेर पैसा कमाउन सकिने अवस्था, नाफा गर्न सक्ने अवस्थामा मात्रै लिने हो । नाफा हुन नसक्ने अवस्थामा शुन्य ब्याजदर भए पनि कर्जा लिएर कसैले पनि लगानी नगर्ने उनको भनाइ छ । ‘अहिले माग छैन भनिएको छ । जसले गर्दा पनि कर्जा विस्तारमा असर गरेको छ,’ उनले भने ।
कर्जा विस्तारका लागि निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन विस्तारमा काम गर्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ । ‘नेपालको विद्युत प्रसारण लाइन राम्रो नरहेको अवस्था छ । यो क्षेत्रमा निजी क्षेत्रका व्यवसायीहरुले काम गरेको खण्डमा नाफा गर्न सकिने र त्यसका लागि कर्जा पनि लगानी हुन सक्छ,’ उनले भने । त्यस्तै काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि अध्ययन गरेर सञ्चालन गर्न सकेको खण्डमा लोन प्रवाह बढ्न सक्ने उनको भनाइ छ ।
लगानी गरेर नाफा हुने अवस्था नदेखिएकाले व्यवसायीहरुले कर्जा लिन नसकेकाले बैंकको ब्याजदर घट्दा पनि कर्जा विस्तार हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यको भनाइ छ । पुराना व्यवसायीमा आत्मबल नै नरहेको र नयाँहरुका लागि डकुमेन्ट मिलाउनै निकै झन्झटिलो रहेको उनले बताए । नयाँ काम गर्ने सोचमा कोही पनि छैनन् । नयाँ काबाट रिटर्न आउने वाला पनि छैन् । पुरानो काममा विजनेश घटेको अवस्थामा फेरि लगानी गर्न सक्ने अवस्था नै छैन,’ उनले भने, ‘नयाँ जेनेरेशनले काम गर्दा लोन लिनका लागि डकुमेन्ट नै पुर्याउन सक्दैन ।’ बैंकको ब्याजदर घटे पनि प्रक्रिया उस्तै रहेकाले पनि कर्जा लिनका लागि निकै झन्झटिलो रहेको उपाध्यक्ष वैद्यको भनाइ छ ।
व्यापार नभएको अवस्थामा विजनेश बढाउन पर्ने आवश्यकता नै नरहेको उनले बताए । मौद्रिक नीतले केही सम्बोधन गरिएको भए पनि बैंकको पोलिसीका कारण लोन लिनै नसक्ने अवस्था देखिएको वैद्यको भनाइ छ ।
उपभोग गर्ने पनि कम, उत्पादन पनि कम, लगानी पनि कम भएको अवस्थामा नयाँ लगानी हुने अवस्था नरहेको उनी बताउँछन् । नयाँ काम गर्ने आँट पनि नरहेको त्यस्तै पहिलेको जस्तै कममा लिएको ब्याज पनि बढ्न भएकाले पनि व्यवसायीहरु केही हच्चीएको उनले बताए । ब्याजदरले भन्दा पनि अहिले मुख्य गरि माग घटेकाले लगानीका लागि व्यवसायीहरु उत्साहित नभएको उनी बताउँछन् । ३६ प्रतिशतमा पनि कर्जा लिएर व्यापार गरेको सुनाउँदै वैद्यले भने, ‘व्यापार हुने हो भने ब्याज घटबढले केही पनि असर गर्दैन ।’
कर्जाको माग बढ्न नसक्नुमा व्यवसायीहरुको मनोबल पनि कारण रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भक्त हमालको भनाइ छ । अस्थिर पोलिसीका कारण व्यवसायीमा आत्मबल बढ्न नसकेको र यसले नयाँ लगानी हुन नसकेका कारण ऋण कम मात्रै गएको उनको भनाइ छ । ‘सरकारले बनाउने पोलिसी छिटो छिटो समयमा परिवर्तन गर्ने गरेको छ । यसले पनि निजी क्षेत्रलाई निकै समस्या परेको छ,’ उनले भने । अर्को तर्फ सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणका कारण पनि अहिले व्यवसाय गर्न सक्ने अवस्था नरहेको हमाल बताउँछन् । व्यवसाय भनेको जोखिम हो । जोखिम लिने भनेको केही नाफा गर्नका लागि हो । तर अहिले अस्थिर पोलिसिका कारणले नोक्सानी व्यहोर्नु पर्ने भएकाले पनि लगानी हुन नसकेको उनको भनाइ छ ।
अर्को तिर कोडिभको समयमा कम लिएको ऋणको ब्याज पछि बढेकाले पनि अहिले व्यवसायीहरु कर्जा लिनलाई उत्साहित नदेखिएको उनको भनाइ छ । व्यवसायीहरुले उदारोमा व्यापार गरेर नगदमा सरकारले कर तिर्नु पर्ने अवस्था रहेको उनले गुनासो गरे । ‘सरकारले ट्याक्स, भ्याट जसरी पनि लिन्छ । तर व्यवसायीको उदारो नउठेको विषयमा उसलाई चासो नै छैन्,’ उनले भने । सरकारलाई आफूहरुले उदारो असुलि ऐन जारी गर्नका लागि आग्रह गरेको भन्दै हमालले भने ऐन आएको खण्डमा पनि केही मात्रामा व्यवसायीहरुको मनोबल बढ्ने र त्यसले लगानी पनि वृद्धि हुने बताए । व्यवसायीका पिडा मर्काका विषयमा राज्य बेखरब रहेको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा ७२ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा कर्जा प्रवाह भने ५५ खर्ब ८९ अर्ब रुपैयाँ भएको छ । आवश्यक मात्रामा कर्जा प्रावह हुन नसक्दा नेपाल राष्ट्र बैंकले नियमित रुपमा बजारबाट रकम उठाउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्