धनगढी : कटानबाट खेत जोगाउनका लागि बनाइएको तटबन्ध खेतबाटै झरेको पानीले भत्किएको छ । कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीमा तटबन्ध बनाइएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको ४४ लाख रुपियाँ खर्चेर बनाइएको तटबन्धलाई खेतबाट आएको पानीले भत्काएको हो । १५ मिटर तटबन्ध भत्केको जनाइएको छ ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत १०८ मिटर तटबन्धन बनाएको थियो । गत जेठबाट निर्माणको काम सुरु भई असार पहिलो साता पूरा भएको वडा सदस्य टुनीराम चौधरीले जानकारी दिए । उनले उपभोक्ता समितिको कमीकमजोरीका कारण बेइज्जत भएको उल्लेख गरे ।
सुरक्षाका लागि बनाइएको तटबन्ध नै भत्केपछि स्थानीय आक्रोशित भएका छन् । उनीहरूले तटबन्ध निर्माणमा आर्थिक हिनामिना भएको आरोपसमेत लगाएका छन् । स्थानीय बलबहादुर चौधरीले, “तटबन्धमा स्लोप बनाइएन । त्यसैले खेतबाट आएको बर्सातको पानीले तटबन्ध बगाएको हो ।”
पाँच फिट उचाइ बनाउने भनिएको तटबन्ध होचो बनाइएका कारण पनि भत्केको स्थानीयको गुनासो छ । होचो तटबन्ध बनाएर माटो, बालुवाको ड्याम उठाइ पाँच फिट पुर्याइएको उनीहरूले जिकिर गरेका छन् । भलमनसा बाबुराम चौधरीले तटबन्धका लागि उपभोक्ता समिति निर्माण गर्न बोलाएको वडा कार्यालयले पहिले नै समिति बनिसकेको कागज देखाएको बताए ।
बिग्रे, भत्केको ठाउँमा पुनः बनाउनका लागि समितिलाई भनिसकेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर टेकराज बिनाडीले बताए । बिग्रेको ठाउँमा मर्मत नगरे समितिलाई धरौटी फिर्ता नदिने बिनाडीको भनाइ छ । उपभोक्ता समितिले डिभिजन कार्यालयमा दुई लाख रुपियाँ धरौटी राखेको छ ।
प्रतिक्रिया दिनुहोस्