धनगढी : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउपडी गोठ भत्काउन अभियान सञ्चालन गर्न भनेको छ । प्रशासन कार्यालयले सोमबार जिल्लाका नौ वटै पालिकालाई पत्र काट्दै छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न भनेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा कृष्णपुर नगरपालिका – १ मा छाउपडी गोठमा सुतिरहेकी कमला दमाइको सर्पको टोकाइबाट मृत्यु भएको सन्दर्भमा जिल्लाका नौ वटै स्थानीय तहमा छाउपडी गोठ भत्काउन भनिएको छ । पत्रका परम्परागत रूपमा चलिरहेको कुप्रथा उन्मुलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले पालिकाबाट आवश्यक निर्णय गरी सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको छ ।
असार २७ गते छाउगोठमा गोठमा सुत्न गएका बेला सर्पले टोकेर घाइते भएकी कमलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा असार २८ गते मृत्यु भएको थियो ।
यसअघि आइतबार कृष्णपुर नगरपालिकाले पनि नौ वटै वडालाई सम्बोधन गर्दै१५ दिन भित्र छाउपडी गोठहरूको निरीक्षण गरी भत्काउन भनेको थियो । पत्रमा उक्त कार्य कार्यान्वयनमा नल्याए कानुनी कारबाही सहित १० हजार जरिवाना हुने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्