काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा केही प्रक्रियागत त्रुटी भएको हुन सक्ने बताएका छन्। चन्दले एनपिएलको विषयमा उठेका प्रश्नमा सरकारले छानविन गरिरहेको र आगामी बोर्ड बैठकमा पारदर्शी हिसाब प्रस्तुत हुने बताएका हुन्।
‘एनपिएलमा ठोकुवा गरेजस्तै भ्रष्टाचार भयो भन्ने कुरामा विश्वस्त छैन। पहिलो सिजन भएकाले प्रक्रियागत रूपमा त्रुटि भएको हुन सक्छ। दुई दिन अगाडि वा दुई दिन पछाडि काम भएको हुन सक्छ। एक किसिमको छानविन चलिरहेकै छ। सरकारले छानविन गरिरहेको छ। अनियमितता गर्नका लागि एनपिएल सुरु भएको होइन। ठोकुवा नै गरेर एनपिएलमा भ्रष्टाचार भयो भन्ने कुरामा विश्वस्त छैन। हामी अगामी बोर्ड बैठकबाट सबै कुरा पारदर्शी गराउँछौं। पारदर्शी हुन्छ। क्रिकेट पारदर्शी हुँदैन भने अरु कुन संघ पारदर्शी हुन्छ,’ चन्दले आइतबार काठमाडौंमा आयोजना एक कार्यक्रमले एनपिएलबारे भने।
उनले सन् २०२५ मा महिलाको फ्रेञ्चाइज लिग हुने सम्भावना पनि नभएको बताए। उनले एपिएलको दोस्रो संस्करणपछि महिला लिग हुन सक्ने बताए। उनले एनपिएलबाट नाफा आर्जन भएमा त्यो महिला लिगमा लगानी गर्न सकिने बताए।
एनपिएलमा अनियमितता भएको विषयमा यसअघि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको कार्यदलले छानविन गरेको थियो। क्यानको आन्तरिक आर्थिक कारोबार लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको विषय छानविन गर्नका लागि अख्तियारबाट पत्र आएपछि मन्त्रालले कार्यदल गठन गरेको थियो।
कार्यदलले गत असार २५ गते प्रतिवेदन बुझाएको थियो। यद्यपी कार्यदलले अख्तियारको छानविन चलेको अवस्थामा एनपिएलका काम रोक्न भनेपछि विरोध भएको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले दोस्रो संस्करण गर्नका लागि सार्वजनिक भनाइ दिएपछि खेलकुद मन्त्रालयले विज्ञप्ति नै निकाल्न परेको थियो।
‘नेपाल प्रिमियर लिगको आगामी संस्करण निरन्तरताकै पक्षमा छानविन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा गलत प्रचारले क्रिकेटप्रेमी आम जनसमुदाय, खेलाडी र प्रतिस्पर्धी टिमको मनोबल गिराउने भएकाले त्यस्तो किसिमको भुमिका नखेलि दिनु हुन सम्बद्ध सबैमा अनुरोध गर्दछु,’ मन्त्रालयले विज्ञप्ति निकालेर भनेको थियो।
गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणको एनपिएलमा अनियमितता भएको विषयमा प्रतियोगिता सुरू हुनुअघि नै अख्तियारमा उजुरी परिसकेको थियो। टेन्डर प्रक्रिया लगायतका विषयमा कानुनविपरित सम्झौता भएको भन्दै गत मंसिर ७ गते पहिलो उजुरी परेको थियो।
यस्तै लिग सकिएको दुई महिनापछि अर्को उजुरी पर्यो। दोस्रो उजुरी परेपछि अख्तियारले गत फागुन १२ गते युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो।
अख्तियारले उजुरीका सम्बन्धमा पत्राचार गरेपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले गत जेठ ११ गते राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रन्जना प्रधानको संयोजकत्वमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानविन कार्यदल गठन गरेको थिए।
त्यसपछि कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिगको विषयमा विभिन्न १० वटा प्रश्न गर्दै विवरण उपलब्ध गराउन पत्राचर गरेको थियो।
क्यानले गत असार २ गते कार्यदलको प्रश्नको उत्तर समेत पठाएको थियो। तर माग गरिएका आवश्यक कागजात, सूचना र तथ्य प्रदान गर्न क्यान असक्षम नभएको र ‘झारा टार्ने उद्देश्यबाट अभिप्रेरित भइ सतही उत्तर प्रदान’ गरेको भन्दै कार्यदलले असन्तुष्टि प्रकट गरेको थियो।
छानविन कार्यदलले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै अर्को पत्र लेखेको थियो। उक्त पत्रमा क्यानले यसअघि दिएका उत्तरहरु सतही भएको भन्दै फेरि पाँच वटा प्रश्न गर्दै पत्राचार गरेको थियो।
दोस्रो संस्करणका लागि एनपिएल टोलीले खेलाडी रिटेन र रिलिज प्रक्रिया सकेका छन्। क्यानले अगस्टमा मिनि अक्सन र नोभेम्बरमा दोस्रो संस्करणको एनपिएल गर्ने तयारी गरिरहेको छ।
छानविन कार्यदलले सोधेका पछिल्ला पाँच प्रश्न
१. नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्मा विधान बमोजिम स्थापित सस्थाले सेवा तथा वस्तु खरीदमा सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ को प्रतिकुल कार्य गरी एनपिएलको प्रसारण सम्बन्धि कार्य गर्न तपाईलाई कुन ऐनले अधिकार दिएको हो ? स्पष्ट खुलाउनु हुन।
२. त्यस संघबाट आयोजित एनपिएल प्रतियोगिता आयोजना गर्ने भन्ने निर्णय लामो समय अगाडिनै भई सकेता पनि त्यस संघबाट निकालिएको बोलपत्रमा स्पष्ट समय नखुलाई गोलमटोल ढंगबाट सार्वजनिक सूचना प्रकाशित गरी स्वष्थ प्रतिस्पर्धा नहुने अवस्था किन सृजना गर्नु भएको हो? स्पष्ट खुलाउनु हुन।
३. त्यस संघबाट आयोजित एनपिएल प्रतियोगिता आयोजना गर्ने क्रममा विदेशी परामर्श दाताको रुपमा श्री मनिष सुदर्शन पाण्डे जो भारतिय नागरीक हुन् उनलाई परामर्श दाता सम्बन्धि कार्य गराउदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४४ (२) विपरीत कार्य गर्न मिल्छ? स्पष्ट खुलाउनु हुन ।
४. त्यस संघबाट आयोजित एनपिएल प्रतियोगिता आयोजना गर्ने क्रममा स्वदेशी प्रसारण कर्ता कम्पनीहरुलाई प्रतिस्पर्धामा आउन नसक्ने गरी किन त्यस खालको संकुचित काइटेरीया बनाई सिन्डीकेट कायम गर्न मिल्छ स्पष्ट खुलाउनु हुन।
५. यसै पत्रसाथ संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ.दं.नं. ८-०३०२२ मिति २०८१-०८-०७ र उ.दं.नं. ८-०४९८७६ मिति २०८१-११-१२ मा दर्ता भएको उजुरी समेत राखी पठाइएको छ। उक्त उजुरीमा उल्लेखित विषयवस्तुका सम्बन्धमा स्पष्ट पार्नु पर्ने दायित्व नेपाल क्रिकेट संघको ही होइन् ? अतः उक्त दुईवटै उजुरीमा उल्लेखित एनपिएल प्रतियोगिताका सम्बन्धमा उठेका विषय बस्तु स्पष्ट पारी छानबिन कार्यदल निष्कर्षमा पुग्न सहयोग गरीदिनुहुन जानकारी गराइछ। अन्यथा कानून वमोजिम भइ जाने व्यहोरा जानकारी गराइन्छ।
प्रतिक्रिया दिनुहोस्