बालेनले मागे सामूहिक सहयोग, सुनिताले मागिन् माफी

काठमाडौं : काठमाडौं महानगरपालिकाको १७औँ नगरसभा आइतबार बसेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अवसरमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले पृथक तर महत्वपूर्ण सन्देश दिएका छन् । 

महानगर प्रमुख बालेनले प्रस्तुत नीति तथा कार्यक्रममा सबै पक्षको सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिँदै सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको बताए । ‘नीति तथा कार्यक्रम र बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोहीबमोजिम क्रियाशीलता आवश्यक हुन्छ’, उनले भने ।

Seti Hospital

उनले अहिलेसम्म प्राप्त साथ, सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी सहभागिता रहने अपेक्षासमेत व्यक्त गरे ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले निर्धारित समयमै बजेट पेस गर्न नसकिएकोप्रति महानगरवासीसँग माफी मागिन् । आन्तरिक विवाद, रस्साकस्सी र संवादहिनताले प्रक्रियामा ढिलाइ भएको उल्लेख गर्दै उनले भनिन्, ‘महानगरभित्रका तिता–मिठा विवाद र रस्साकस्सीबीच संवादको क्रम पुनः स्थापित भएको छ । अब हामी फेरि एकढिक्का भएका छौँ ।’

संवैधानिक प्रावधानअनुसार असार १० गतेभित्र बजेट पेस हुनुपर्नेमा यसपटक समयमै सम्भव नभएकोप्रति क्षमायाचना गर्दै उपमेयर डंगोलले समस्याहरू क्रमशः समाधान हुँदै गएको बताइन् । 

२५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपमेयर सुनिता डंगोलले बजेट पेस गरेकी हुन् । बजेटमध्ये ५१ प्रतिशत पूर्वाधार विकासमा, २० प्रतिशत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा र बाँकी अन्य क्षेत्रमा विनियोजन गरिएको छ ।

यसअघि नगरसभाको प्रारम्भमा मेयर बालेन शाहले नीति तथा कार्यक्रम पेस गरेका थिए । उक्त कार्यक्रम पारित भएपछि उपमेयर डंगोलले बजेट प्रस्तुत गरेकी हुन् । यस वर्ष महानगरको बजेट समयमै आउन सकेन । काठमाडौं टावरको नक्सा पास विवादपछि करिब ६ महिनासम्म मेयर बालेनले कार्यपालिका बैठक नै नबोलाएले बजेट प्रक्रियामा ढिलाइ भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरको नक्सा स्वीकृत गरेपछि मेयर बालेनले उनी उपस्थित रहेको कार्यपालिका बैठक नराख्ने अडान लिएका थिए । यसले कार्यपालिका र मेयरबीचको विवादलाई झन चर्कायो । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष १० असारभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर, यस वर्ष उक्त समयसीमा नाघेर २९ असारमा मात्र बजेट प्रस्तुत भएको हो ।

बजेट ल्याउनका लागि उपमेयर डंगोल र तीन जना वडाध्यक्षले मेयर बालेनसँग पटक–पटक छलफल गरेका थिए । अन्ततः शुक्रबार कार्यपालिका बैठक बसेपछि आइतबार बजेट नगरसभामा प्रस्तुत गरिएको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार